नेपाली कांग्रेस महाधिवेशन: सभापतिको निर्वाचनका लागि आजै साढे ३ बजेदेखि मतदान हुने

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको निर्वाचनका लागि दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ। पाँच उम्मेदवारामध्ये देउवा पहिलो स्थानमा रहे पनि निर्वाचित हुन आवश्यक ५० प्रतिशतभन्दा बढी मत कटाउन सकेनन्।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले भने: “निर्वाचन दोस्रो चरणमा गयो। दोस्रो चरणको निर्वाचनका लागि आजै साढे ३ बजेदेखि साढे ७ बजेसम्म मतदान हुनेछ।”

मङ्गलवार बिहान ४ बजेबाट सुरु भएको मतगणनाको नतिजा अनुसार पाँच जना उम्मेदवारमध्ये सबैभन्दा धेरै मत प्राप्त गरेका देउवा र कोइराला पुनः चुनावी मैदानमा उत्रिनुपर्ने भएको हो। प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ भने यो दौडबाट बाहिरिएका छन्।

तर शीर्ष दुई स्थानमा रहेका उम्मेदवारबीच अब हुने प्रतिस्पर्धामा बाँकी तीन नेतालाई समर्थन गर्ने मतदाताहरू निर्णायक हुने बुझाइ धेरैको छ। कांग्रेसको विधानअनुसार पहिलो चरणबाटै सभापतिको परिणाम आउन सभापतिका उम्मेदवारमध्ये कुनै एक जनाले ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ।

सोमवार राति सम्पन्न निर्वाचनमा कूल ४,७ ४३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४,६७९ ले मत खसालेको बताइएको छ। मङ्गलवार बिहान सम्पन्न मतगणनाको प्रारम्भिक नतिजामा शेरबहादुर देउवाले २,२५८ अर्थात् ४८.२५ प्रतिशत मत ल्याएका छन्। कोइरालाले १,७२९ मत अर्थात् ३६.९५ प्रतिशत मत प्राप्त गरे।

प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले क्रमश: ३७१, २४९ र २० मत प्राप्त गरे। कूल खसेको मतमध्ये ७७ बदर भएको जनाइएको छ।

धेरै उम्मेदवारबीच मत बाँडिदा पहिलो चरणमा कसैले पनि त्यति मत प्राप्त गर्न नसकेको देखिन्छ। मतगणना स्थलमा रहेका बीबीसी संवाददाता नेत्र केसीले पहिलो चरणमा सभापतिका उम्मेदवारले पाएको मतले दोस्रो चरणका लागि केही सङ्केतहरू भने छाड्ने बताउँछन्। “शीर्ष दुई बाहेकका उम्मेदवारले कसको पक्ष लिन्छन् र पहिलो चरणका आधारमा केही मतदाताले मन फेर्न सक्ने सम्भावनाले समेत दोस्रो चरणको नतिजा निक्यौल गर्नसक्छ।”