नेपाली जनताहरु फेरि पनि एमाले सरकारको भब्य पुनरागमनको प्रतिक्षामा रहेका छन्।दशौ महाधिवेशनमा उर्लिएको जनलहरले सत्तामा रहेका गठबन्धनका दलहरुलाई जनसभा समेत गर्न नसक्ने निरीह साबित गरिदिएको छ। एमाले देशको समृद्धि र विकासको लागि सबैभन्दा समर्पित राजनीतिक दल हो भन्ने जनविश्वास स्थापित भएको छ । कसैको केहि लाग्दैन ,फेरि पनि एमालेको पूर्ण बहुमतको सरकार बन्छ, ढुक्कसँग भन्न सकिने अबस्था छ ।
नेकपा (एमाले) देशको सबैभन्दा ठूलो जन निर्वाचित र लोकप्रिय राजनीतिक दल हो भन्नेकुरा नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति र सम्वोधनले देखायो । अरु सबै एकातिर लाग्दा कनीकुथी सरकार बनाउने बहुमत जुटेको अबस्था भए पनि यसरी बनेको गठबन्धन सरकार देश र जनताका लागि कति निरीह, निकम्मा र नालायक छ भन्ने कुरा सबैले प्रष्ट देखिरहेका छन् ? भन्ने कुरा महाकाली नदीको तुईन काटेर नेपाली नागरिक पदमसिह धामीलाई हत्या गर्दासमेत चुईक्क नबोलेको घटनाले सावित गरेकोछ ।
अदालतको आडमा जबरजस्ती सरकारबाट बिस्थापित गरिएको नेकपा (एमाले)का अध्यक्ष ओली नेतृत्वको सरकार देशका लागि कति अपरिहार्य र महत्वपूर्ण रहेको थियो ,भन्ने कुरा गठबन्धन सरकारको पछिल्लो काम कारबाहीले फेरि पनि प्रमाणित गरिदिएको छ ।
जनादेश विपरीत कांग्रेसी नेतृत्वमा गठबन्धन सरकार बनेपछि सरकार, संसद र न्यायालय आम जनताको तहमा मात्रै होइन विश्व समुदाय समक्ष बदनाम बन्दै गएको छ । यसले न्याय नपाए गोर्खा जानु भन्ने पृथ्वी नारायण शाहको दिव्योपदेशको समेत खिल्ली उडाएको छ । मौजुदा गठबन्धन सरकारको पछिल्लो काम कारबाहीले मुलुकमा फेरि पनि अराजकता र अस्थिरताको कालो बादल मडारिन थाली सकेको छ ।
तत्कालिने नेकपा नेतृत्वको ओली सरकारले सुरु गरेका दिर्धकालिन र अल्पकालिन विकास आयोजनाहरु ठप्प पारिएको छ । महंगीले आकास छोएको छ । गठबन्धन सरकारबाट जनताहरु प्रताडित छन् । गठबन्धन सरकार बने पछि भ्रष्टाचारले संस्थागत रुप लिएको छ । उदण्डता देउवा सरकारको उपहार भएको छ । देश डुवाउने र जनता लुटेर कालावजारियाहरुलाई पोस्नको लागि गठबन्धन सरकार र तल्लो तहका उनका आसेपासेहरुका लागि राम्रो माध्यम बनिरहेकोछ ।
छिमेकी देशका शासकहरुको स्वार्थमा देशलाई फेरि अराजकताको भूमरीमा होम्नका निम्ती सरकार सञ्चालनका लागि बनाइएका कार्यदल र त्यसका कारिन्दाहरु क्रियाशिल छन् । प्रचण्ड र माधव नेपाल अराजकता र अशान्तिका गोटी नबनुन् भन्ने तर्फ आम नेपाली जनता मात्रै होइन हाम्रो पार्टी पनि अत्यन्त चनाखो बनिरहेको छ । छिमेकी देशले हाम्रो पार्टीको बढ्दो प्रभावलाई रोक्न, देशको विकासक्रमको रफ्तारलाई पछाडि धकेल्ने षडयन्त्र कै सिलसिलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बिभाजन गराउन प्रचण्डलाई दिल्लीमा बोलाएर लोभ्याएर अनाहकको कलह निम्याइएको कुरा जगजाहेर छ । त्यसका लागि कार्यपालिका र न्यायपालिकालाई बारम्बार दुरुपयोग समेत गरिएका बिबरणले गठबन्धनमा दिल्लीको दबदबा प्रष्टसँग देखाउँदछ ।
यस्तो संकटपूर्ण अबस्थामा पार्टीलाई अलपत्र छाडेर हिड्ने माधबकुमार नेपाललाई बिगत देखि नैं बेलाबेलामा छिमेकी देशले आफ्नो पात्रका रुपमा मोहरा बनाउदै आएका पात्रको रुपमा चिनिएका नेता हुन् । महाकाली सन्धि गर्दा अहिलेका प्रम शेरबहादुर देउवा २०५३ साल ताका संसदीय इतिहासमै बदनाम प्रम रहेका थिए । नेपालको संसदीय व्यवस्थालाई सुरा शुन्दरी काण्ड मात्रै होइन प्राडो र पजेरो सँस्कृति मार्फत कुरुप बिकृत बनाउने काम पनि उनैले गरे । त्यस बेला पार्टीको महासचिव रहेका माधवकुमार नेपाल र उनका चेलाचपेटाहरुले अहिले एमाले अध्यक्ष ओलीलाई महाकाली सन्धिको दोषारोपण गर्नु केवल दुराग्रह बाहेक केहि होईन भन्ने कुरा बारम्बार प्रमाणित भएको छ ।
अहिले आएर जनादेश नभएका शेरबहादुर देउवा कै भरिया बनेर प्रचण्ड र माधवकुमार नेपालहरु नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बिरुद्धमा लागिरहेका छन् । २०५४ सालामा पार्टी फुटएर कांग्रेस र माओवादीलाई मलजल गर्ने र २०७७ सालमा प्रचण्डको बुईमा चढेर स्पष्ट बहुमतका साथ सरकारमा रहेको आफ्नो पार्टीलाई सरकारबाट हटाउन फ्लोर क्रस गरेर कांग्रेसलाई सरकारमा ल्याउनका लागि अवाञ्छित र अनुशासनहिन काम गर्ने पनि यिनै नेपालनैं हुन् । सारांशमा भन्दा माधव नेपाल कम्युनिस्ट पार्टी भित्रका छिराईएका यस्ता हरिया साँप हुन् जसले जतिवेला पनि डस्न सक्छन् । उनका क्रियाकलापले दुष्मनका एजेण्ट हुनकि भन्ने आशंकासमेत पैदा गराएको छ ।
नेपालको इतिहासमा देश र जनताका लागि सबैभन्दा बढि विकास र निर्माणकार्य गरेको आफ्नै पार्टीको लोकप्रिय सरकार गिराउन पछि नपरेको नेताको रुपमा बदनाम पात्र रुपमा माधव नेपालनैं हुन् भन्ने तथ्य स्थापित भएको छ । सिङ्गो एमाले एकातिर देश विदेशी शक्ति अर्कातिर भएको तिब्र संघर्षको अबस्थाबाट नेपालको राजनीति अगाडि बढिरहेको छ । यो संघर्षमा नेकपा (एमाले) ले जित्नु पर्छ, एमालेको जित नै नेपाल राष्ट्र र नेपाली जनताको जित हो । अहिले यहि नैं सम्पूर्ण देशभक्त, लोकतान्त्रिक र समाजवादी शक्तिहरुको मूलमन्त्र हुनु पर्दछ । कार्यपालिका, न्यायपालिका र ब्यबस्थापिकाको अस्तित्व माथिनैं गंभीर प्रश्नचिन्ह लागेको अहिलेको अवस्थामा ताजा जनादेशमा जानु बाहेक अर्को विकल्प छैन । राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको ग्यारेन्टीका लागि नेकपा (एमाले)ले मुलुकको शासन सत्ताको बागडोर सम्हाल्न फेरि पनि तयारी अबस्थामा बस्नु पर्दछ । समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय बनाउने अभियानमा नेतृत्व पक्तिमात्रै होइन कार्यकर्ताहरु पनि झनझन प्रतिवद्ध बनेर शतिसाल झै उभिन जरुरी छ ।










