एमाले अध्यक्ष ओली सुध्रिँदैनन् – माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई केपी ओलीले प्राइभेट कम्पनी बनाएको बताएका छन्।

बुटवलमा समाजवादी प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिने सम्भावना नरहेको बताए।

नेपालले ओलीलाई हिटलरसँग तुलना गर्दै भने, ‘हिटलरलाई आफ्नै श्रीमतीले त सुधार्न सकिनन्, अरूले कसरी सुधार्न सक्छन्? एमालेमा पनि ओलीको अवस्था त्यस्तै देखेर विद्रोह गर्नुपरेको हो।

उनले ओली सुध्रिने सम्भावना नदेखेर नै आफूहरुले विद्रोह गरेको बताउँदै ओलीले कम्युनिष्ट आन्दोलन नै संकटमा पारेको बताए।
उनले कम्युनिष्ट आन्दोलन बचाउन एमालेभित्रका सच्चा कम्युनिष्ट ओलीको भ्रमबाट मुक्त हुनुपर्ने बताए।

नेता नेपालले चितवन महाधिवेशनले आफूहरूको विद्रोहको औचित्य पुष्टि गरेको बताए। ‘चितवनमा तमासा देख्नुभयो नि, त्यसले नै पुष्टि गरिहाल्यो नि हामीले विद्रोह किन गर्नुपरेको रहेछ भनेर’, उनले भने।

अध्यक्ष नेपालले पाँचदलीय गठबन्धन राष्ट्रियसभा चुनाव र उपनिर्वाचनसम्म कायम रहने बताउँदै स्थानीय चुनाव वैशाखमा गर्ने वा तीनै तहको चुनाव एकैपटक गर्ने भन्ने विषयमा दलहरुबीच छलफल गरेर निष्कर्षमा पुग्ने बताए।