बामपन्थी मोर्चा र समाजवाद बारे

रुसी मोडलको समाजवाद असफल भए पछि अबको समाजवादी मोडल कस्तो हुन्छ ? २१ औं शताब्दीमा सबभन्दा पहिले समाजवाद कहाँ र कसरी आउँछ ? र हिजो भनिएको समाजवाद वा जनवाद किन टिकेन ? आजका कम्युनिस्टहरू किन कम्युनिस्ट जस्ता लाग्दैन ? समाजवादको मापन गर्ने मुख्य कसौटी राजनीति ,अर्थतन्त्र, सामाजिक व्यवस्था र संस्कृति सहितको राज्यसत्ताको मोडल कस्तो हुनु पर्छ ? कुनै पनि राज्य व्यवस्थामा व्यक्ति , गुट र स्वार्थ समुहको मात्रै जमघट र नियन्त्रणबाट २१ औं शताब्दीको समाजवाद निर्माण सम्भव छैन ।
संसारमा हालिमुआली कायम गरेको वित्तीय पँुजिवाद र संसदीय व्यवस्थाले कहिल्यै पनि समाजवाद ल्याउदैन । यसको विकल्प खोज्न संसार भरिका परिवर्तनकारी शक्तिहरू निरन्तर प्रयासरत छन् ।
खासगरि चीन बाहिर माओको मृत्युु पछि माक्र्सवादी दर्शनको सापेक्षिक अध्ययन, प्रयोग र विकासमा गम्भीर समस्याहरू देखिएको छ । माक्र्सवादी दर्शनको श्रोत र संघटक अंगहरू फरक फरक पृष्ठभूमिमा विकसित भए जस्तै २१ औं शताब्दीको समाजवादको विकासको लागि संसारभरि नैं अहिले विकसित भईरहेका विचार ,दर्शन ,राजनीति र अर्थ (ब्यबस्था) को प्रयोगमा देखिएका बिशेषताको सूक्ष्म र मौलिक अध्ययन, बिश्लेषण र संश्लेषण गरिनुपर्छ । संसार भरका माक्र्सवादी र बामपन्थीहरुले दक्षिण अमेरिकी बामपन्थी आन्दोलनको पछिल्लो अनुभवहरु बढि नैं चासोका साथ अध्ययनको बिषय बनाएका छन् ।
हालसालै नेपालको बामपन्थी आन्दोलनले पनि फराकिलो प्रभाव क्षेत्र विस्तारका बाबजुद यसमा देखा परेका फुट र बिभाजनले गम्भीर चुनौती खडा गरेको छ । अहिले बामपन्थी जनमत निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको बौद्धिक जगतले यसको सामना कसरी गर्ने सोच राखेकोछ ? भन्ने बारे सोच्नुपर्ने बेला आएको छ । एकआपसमा दन्तेबझान गरिरहेका बामपन्थी पार्टीमाझ न्यूनतम् सहमतिको आधारमा साझा मोर्चाबन्दीको विकासको प्रयासलाई फेरि अघि बढाउदै जानु पर्दछ । यस कार्यलाई वेवास्ता गरेको खण्डमा नेपालका सबै बामपन्थी शक्तिको लागि यो बिभाजन निकै महँगो सावित हुनेछ । पुँजीवादी र यथास्थितिवादी शक्ति केन्द्रले यस्तो बिभाजनबाट तत्काल फाइदा उठाउने निश्चितछ ।
नेपालमा तत्कालै समाजवाद सम्भव छ कि छैन ? भन्ने बिषयमा बामपन्थी शक्ति माँझ नैं गम्भीर मतभिन्नता रहँदैआएको छ ।
हाम्रो देशको सम्विधान २०७२ ले समाजवाद उन्मुख व्यवस्थाको परिकल्पना गरेको छ । तर बामपन्थीहरू माँझ मौजुदा मतभिन्नतारू सबभन्दा प्रमुख बाधक रहेकाले यसलाई हटाउन जोड दिनु पर्दछ । वास्तविक भन्दा धेरै पर पुगेर गरिने विरोध र आलोचनाहरू ज्यादतीका स्तरमा रहेका छन् । यसलाई परास्त गर्ने र सहि विचारको विकासको लागि सबैलाई एक ठाँउमा राखेर विचार विमर्श गर्न थाल्यौं भने सबभन्दा राम्रो सुरूवात हुनेछ । यसले सबैलाई आ–आफ्नो कमजोरी सच्याउन मद्दत पनि गर्नेछ । र नेपालमा रहेका सबै बामपन्थी मिलेमा झनै शक्तिशाली भएर सामाजिक परिवर्तनका बाँकी कामहरु सफलताका साथ पुरा गर्ने सम्भावना पैदा हुनेछ । (लेखकः नेकपा एमाले सिन्धुलीका सचिव हु् )