निर्मल निवास प्रकरण छानबिन गर्न राप्रपाका आठ केन्द्रीय सदस्यको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकमा आठ जना केन्द्रीय सदस्यले पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिन गर्न माग गरेका छन्। 

बुधबार नवनिर्वाचित समितिको पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो। 

invotech

बैठकमा केन्द्रीय सदस्यहरू राजाराम बर्तौला, केदार कोइराला, विजय खड्का, रिता माझी, जमुना थापा, दीपक मल्ल, शशी सिलवाल र राधेश्याम साहले निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिन गर्न माग गरेका हुन्। 

हालै भएको एकता महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासले हस्तक्षेप गर्दा आफूले हार व्यहोरेको भन्दै निवर्तमान अध्यक्ष कमल थापाले आक्रोश पोखिरहेका छन्। 

थापा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए। पराजयसँगै थापाले निर्मल निवासले आफूलाई हराउन भूमिका खेलेको आरोप लगाएका थिए। 

sanima
everyghar  box ad 2
nmb

बैठकमा बोल्ने थापा पक्षधर केन्द्रीय सदस्यहरूले निर्मल निवासले गरेको हस्तक्षेपबारे छानबिन गर्न समिति गठन गर्न माग गरेका हुन्। 

‘निर्मल निवासले जुन किसिमबाट पार्टीको आन्तरिक निर्वाचनमा हस्तक्षेप गरेको छ, त्यो घटनाको निन्दा गर्दै हामीले छानबिन समिति गठन गर्न माग गरेका छौं,’ केन्द्रीय सदस्य बर्तौलाले भने। 

बैठकमा बोल्ने लिङ्देन पक्षका केन्द्रीय सदस्यहरूले भने यो विषयमाथि विवाद गरिरहन नपर्ने बताएका थिए। 

पहिलो बैठकमा पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी थिए। अर्का पूर्वअध्यक्ष कमल थापा भने बैठकमा थिएनन्।