
नेकपा एमालेका वर्तमान केन्द्रीय किमिटीको अन्तिम बैठक चितवनको सौराहामा बसेको छ। १०औं महाधिवेशन उद्घाटन सत्रपछि शुक्रबार सौराहामा बसेको केन्द्रीय किमिटी बैठकले पदाधिकारी संख्या थप गर्ने निर्णय गरेको छ।
अध्यक्ष केपी ओलीको प्रस्तावमा बैठकले दुई उपाध्यक्ष र दुई उपमहासचिव थप्दै पदाधिकारी संख्या १९ पुर्याउने निर्णय गरेको छ। यसअघि एमालेनमा अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था थियो।
चार पदाधिकारी थपिएपछि अध्यक्ष, वरिष्ठसहित ७ उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र सात सचिव रहनेछन् । अब एमालेको सचिवालय पनि १९ सदस्यीय हुनेछ। हाल पदाधिकारीमध्यबाट ५ जनाको सचिवालय बनाउने व्यवस्था रहेको थियो ।
यसैगरी बैठकले पोलिटब्युरो पुनः गठन गर्ने निर्णय पनि गरेको छ। यसअघि असोजमा भएको विधान महाधिवेशनले पोलिटब्युरो हटाएको थियो। त्यसलाई फेरि ब्युँताएर ९९ सदस्यको पोलिटब्युरो गठन गरिएको छ।
त्यस्तै, बैठकले २२५ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर ३०१ सदस्यीय बनाउने पनि निर्णय गरेको छ।
