
नेकपा (एमाले) को चितवनमा जारी दशौं महाधिवशेनको सम्वोधनले आगामी ५ वर्षसम्मका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली बन्ने निश्चितप्राय छ । शुक्रवारको महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष ओलीलाई शक्तिशाली र मुलुकमा भएको राजनैतिक, आर्थिक र सामाजिक परिवर्तन संवाहक र नायकनैं हुन् र उनकै योजना र अगुवाईमा विकासका कामहरु भएका हुन् भन्नेकुरा दर्शाइएको भिडियो डकुन्ट्री प्रसारणले दशौं महाधिवेशनपछि अध्यक्ष ओली अझ शक्तिशाली बनेर उदाउने देखिएको छ ।
हिजो नेकपा हुँदा रोकतोक थियो, अब त्यो अवस्था पनि देखिंदैन । किनकि शनिवार सौराहामा हुने बन्दसत्रमा उनको विरुद्ध मोर्चाबन्दी गर्ने कोही पनि हुने देखिंदैन अर्थात ओलीको बिरुद्धमा जाने कुनै पनि नेताहरु नयाँ कमिटीमा निर्वाचित नहुन सक्छन् । तर मौजुदा अबस्था यस्तै देखिएपनि दशौं महाधिवेशन नेकपा एमाले र माओवादी केन्द्र बीचको पार्टी एकतापछि बनेको नेकपाकै निरन्तरताका रुपमा लिनुपर्छ भन्ने बुझाइले पनि ओली आफ्नो ढंगले एकल रुपमा अगाडि बढ्छन् भन्ने अबस्था देखिंदैन । किनकी अहिले ओलीमाथि प्रश्न उठाउने मान्छेहरू (दश भाई) लाई व्यवस्थापन गरिदिनु उनको नैतिक जिम्मेवारी पनि हो । किनकि यतिबेला ओलीसँग आफुलाई शक्तिशाली बनाउनका लागि पावर र प्लान दुवै छ । त्यसैले पनि आफ्नो शक्तिलाई थप सुदृढीकरण गर्ने नाममा अध्यक्ष ओली थप महत्वाकांक्षी बन्न सक्छन् भन्ने कुरा उद्घाटन सत्रमा प्रस्तुत भिडियोले संकेत गरिरहेको छ
गत महिना सम्पन्न एमालेको विधान अधिवेशनले एमालेमा हुर्कँदै गएको अराजकता र अस्थिरतालाई नामेट पार्ने आशालाग्दो अवस्था सिर्जना गरिदिएको थियो । विभाजनको भिमकाय डिलमा पुगेको एमाले जनस्तरमा बलियो बनिरहेको जगकै कारण चोइटिएपनि त्यसले एमालेको आन्तिरिक जीवनमा खासै ठूलो महत्व राखेन । मानौं महाधिवेशनमा शक्तिशाली बनेका ओली र आगामी आम निर्वाचनमा एमालेले अघिल्लो चुनावको तुलनामा धेरै सिट गुमायो र एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालले भनेझैं एमालेलाई ठेगान लगाउनकै लागि नेपाली कांग्रेसको बुँई चढेर एकै साथ गएभने ओलीको महत्वकांक्षामा धक्का लाग्न सक्छ । तर नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु एमाओवादीलाई बोकेर हिंड्ने पक्षमा देखिंदैनन् ।
एमालेलाई हराउनका लागि गठबन्धनको गठजोडलाई निर्वाचनसम्म निरन्तरता दिनुपर्ने प्रचण्ड र नेपालको चिच्याहटले नारायणी नदी किनारमा उर्लेको एमालेको उभारपछि उनीहरुलाई थप तरंगित बनाउने देखिन्छ । शानदार रुपमा उद्घाटन सत्रसम्पन्न गरेर सबैलाई चकित बनाएको एमालेले शनिवारको बन्दसत्रबाट सर्वसम्मत नेतृत्व चयन गर्न सक्नु पर्छ । तर एमाले र स्वयमं ओलीकै उत्तारधिकारीहरु बढी अकांक्षी देखिएपछि भने ओलीको सर्वसम्मत पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने योजना पुरा नहुन पनि सक्छ । नेपाली राजनीतिका ओली यस्ता चतुर खेलाडी हुन् कि उनका अगाडि २२५ सदस्यीय केन्द्रीय समितिको संख्यालाई बढाएर आकांक्षीहरुलाई सेटिङ गर्नुपर्ने अबस्था आउनेछ । त्यसका निम्ती उनी सक्षम पनि छन् । यदी ओलीले केन्द्रीय समितिको निर्धारित सिट संख्यालाई बढाउन सफल भएभने एमालेको नेतृत्व चयन पनि सर्वसम्मत बन्ने संभावना बढेर जाने देखिन्छ । (प्रेम दाहाल-भरतपुर, चितवन)