आसन्न एमालेको दशौं महाधिवेशन र गन्तब्य

नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह, देशको सबभन्दा ठूलो राजनीतिक शक्ति नेपाल कम्युनिष्ट पार्टी(एमाले)को दशौं महाधिवेशनको तयारी युद्धस्तरमा भइरहेको छ । अघिल्लो महिना ललितपुरको गोदावरीमा तीन दिनसम्म चलेको विधान महाधिवेशनले पार्टीले आगामी पाँच वर्ष अवलम्बन गर्ने नीति र पार्टी सञ्चालन गर्न आवश्यक विधान सर्वसम्मत रूपमा पारित गरिसकेको, देशभरका सबै वडा र पालिकामा आफ्ना अधिवेशनहरू सर्वसम्मत रूपमा भव्यतापूर्वक सम्पन्न गरिसकेको, महाधिवेशनस्थल चितवनमा आवश्यक भौतिक र जनपरिचालनको तयारी शुरू भएको र महाधिवेशन प्रतिनिधि चयनको मापदण्ड र मिति समेत तोकिसकेको सन्दर्भमा एमालेको महाधिवेशन तोकिएको मितिमा सम्पन्न हुनेमा अब कुनै शङ्का छैन ।

एमालेजस्तो भीमकाय राजनीतिक शक्ति माओवादी केन्द्रसंगको ‘एकता’मा तीन वर्षसम्म अल्मलियो । यसले सो अवधिमा केही अपवादबाहेक जनतालाई संगठित गर्ने र परिचालन गर्ने काम गर्न सकेन । जे गर्न खोज्दा पनि हलो अड्काउने र हलचल गर्न नदिने प्रचण्ड र माधव नेपालको कारण एमाले संगठनको ठूलो उर्जा लामो समय मुर्झाउनु पर्‍यो । उनीहरूको बहिर्गमनपछि बल्ल एमालेले आफ्नो गौरवशाली लय पक्र्यो ।

लामो अन्योलपछि साङ्‌गठानिक गतिविधि गर्न पाएका एमालेका नेता-कार्यकर्तालाई बल्ल चाडपर्व आएजस्तो भएको छ । हर्शोल्लास छाएको छ । पार्टीभित्र अवान्छित समूहबन्दी र विवाद नहुँदा सबैतिर सामूहिक भावना, कमरेडली भावना मुखरित भएको छ । परमादेशी सरकार र एमालेविरोधी गठबन्धनसंग पाइला-पाइलामा प्रतिस्पर्धा गर्न सक्ने तागत निर्माण भएको छ ।

एमालेमा वैचारिक र साङ्‌गठानिक उभार आउँदा आफूलाई कम्युनिष्ट भन्न रुचाउने देउवाका पुच्छर प्रचण्ड समूह र माधव समूहलाई खपिनसक्नु हुटहुटी भएको छ । के पी ओलीलाई सरकारबाट ओरालेपछि तत्कालीन नेकपालाई आफ्नो कब्जामा पार्ट सकिन्छ भन्ने निष्कर्ष निकालेर विगतमा प्रचण्ड-माधव समूहले हुने नहुने सबै हर्कत गर्‍यो । तर ओलीको साख घटाउन सकेन । सत्ता बहिर्गमनपछि ओलीले झन जनताको माया ममता प्राप्त गर्ने अवस्था बन्यो । सर्वोच्चले एमाले र माओवादीलाई कानूनी रूपमा छुट्याइदिए पनि माओवादी विरासत बोकेका सयौं नेता-कार्यकर्ता ओलीको नेतृत्व स्वीकार्नु र आधारभूत तहका हजारौं माओवादी कार्यकर्ता एमालेमा ओइरिनुलेप्रचण्ड विछिप्त जस्तै बन्न पुगेका छन् । नेपाली काङ्‌ग्रेससंग गठबन्धन गरेर आगामी चुनाव जित्ने आसमा रहेका प्रचण्डलाई काङ्‌ग्रेसले रातो बत्ति बालिदिएपछि र चितवनबाट लखेट्ने उद्घोष गरेपछि त उनी झन तिलमिलाए ।

झन एमालेले आफ्नो दशौं महाधिवेशन उनको गृहजिल्ला चितवनमा गर्ने निर्णय गरेपछि त उनीमाथि बज्रपात भएझैं भयो । उखरमाउलो भयो । ‘म आगो हुँ’ भनेर संसदमा हुङ्‌कार गर्ने प्रचण्ड म्याँउ शैलीमा बिलौना गर्न थालेका छन् ।

एमाले र ओलीलाई कमजोर पार्ने अभियानमा हात धोएर लागेका माधव नेपाललाई पहिलो गाँसमा त ढुङ्‌गो लाग्यो लाग्यो, गाँसैपच्छे ढुङ्‌गो लागेको छ । कुनै वेला एमालेको दोस्रो पुस्ता आफूसंग भएको दाबी गर्ने माधब नेपाललाई एमाले चोइट्याउन कसैले पनि साथ नदिएपछि शुरूमै उनको असली औकात देखिएको थियो । पार्टी चोइट्याउन उनलाई केही नेताले साथदिए पनि जनताले उनको अपिललाई सुनेनन्, कानमा तेल हालेर एमालेको मूलधारमा बसिरहे । भ्रमवस माधवको पक्षमा लाग्नेहरू पनि निरन्तर एमालेमै समाहित हुदैछन् । अर्थात् चुनाव आउनु धेरै अघि माधव समूहलाई टर्च बालेर खोज्नु पर्ने भएको छ । एमालेले सम्मन्न गरेका महाधिवेशनले तृणमूल तहमा माधव समूहको अस्तित्व लगभग समाप्त पारिदिएको छ । ढुक्कका साथ भन्न सकिन्छ- माधव समूह पार्टीको रूपमा उभिने र हिड्ने अवस्था अब रहेन । त्यो समूह सोचेभन्दा पहिल्यै बिलिन हुने पक्का भयो ।

माधवनेपालहरूले कल्पना नगरेको अवस्था आएपछि उनीहरूको होस ठेगानमा छैन । एमाले भत्काउन जति भगिरथ प्रयत्न गर्दा पनि एमाले सिंगै सग्लै रहेको देख्दा माधव नेपाललाई कति औडाहा होला ? आफ्नो औडाहा छोप्न हिजो आज माधव नेपाल द्यौसी भट्याएजस्तो भट्याउँदै हिंडेका छन्-‘आगामी निर्वाचनपछि एमालेलाई टर्च बालेर खोज्नु पर्छ।’ कति हाँस्नु ?