चोलेन्द्र शम्शेर प्रधानन्यायाधीश जबरा भन्छन्: कसैको दबावमा सडकबाट राजीनामा माग्दैमा राजीनामा दिन्नँ

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान व्यक्त गरेका छन्।

बीबीसी न्यूज नेपालीलाई दिएको अन्तर्वार्तामा उनले आफूले “कसैको दबावमा” राजीनामा नदिने बताए।

आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले “सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने” दृढता प्रकट गरे।

नेपाल बार एशोसिएशन तथा पूर्वप्रधानन्यायाधीश लगायतबाट राजीनामाको अपेक्षा भइरहेको देखिएको बेला जबराले त्यस्तो अडान दर्शाएका हुन्।

कसैको “दबाव र प्रभावमा” पद त्याग नगर्ने उनले बताए। जबराले भने, “न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ।”

त्यसको अर्थ के उनी महाभियोग सामना गर्न तयार छन् त? “यसमा म प्रष्ट छु, म विधि र प्रक्रियाबाट आएको हुँ, विधि र प्रक्रियाबाट जान तयार छु,” उनले भने।

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा जबराले भाग खोजेको आरोप लागेपछि उनी विवादमा तानिएका थिए। तर मन्त्री नियुक्त भएपछि जबराका नातेदार गजेन्द्र हमालले राजीनामा दिएका थिए।

महाभियोग सामना गर्न ‘तयार’

प्रधानन्यायाधीश जबराले आफू पदबाट बाहिरिने बाटो संविधानमा व्यवस्था रहेको भन्दै महाभियोगतर्फ सङ्केत गरे।

प्रधानन्यायाधीश जबराले भने, “संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो।”