बझाङमा पहिरोमा परेर २४ जना बेपत्ता भएका छन् । सोमबार रातिको पहिरोमा परेर थलारा गाउँपालिका-४ डिक्लामा २४ जना हराइरहेका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडा भन्ने ठाँउबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको स्थानीय प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा गगने सार्कीका एकै परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना रहेका छन् । गगने सार्कीका माइला छोरा काले सार्की मात्र हाल सम्पर्कमा आएका छन् । यतिबेला पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायी रुपमा आश्रय लिइरहेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
प्रहरी टोली डिक्ला पुगे पनि पहिरो खसिरहेका कारण उद्धार हुन नसकेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए । ‘पहिरोमा एक जनाको आधा शरीर देखिएको भन्ने खबर आएको छ । पहिरो खसिरहेकाले उद्धार काम हुन सकेको छैन,’ उनले भने ‘ बाटो अवरुद्ध भएकोले थप बल त्यता पठाउन पनि सकिएको छैन ।’
सेती नदीमा आएको बाढीले बझाङ उच्च जोखिममा परेको छ । मौसममा आएको परिवर्तनसँगै आइतबारदेखि भएको अविरल वर्षाका कारण सेती, कालङ्गा नदी र बाहुली खोलालगायत साना ठूला खोलामा पानीको बहाव बढेको छ । नदीमा पानीको वहाव बढेपछि जिल्ला प्रशासन कार्यालय बझाङले सूचना प्रकाशित गरी बाढीले खतराको सङ्केत नजिक पुगेकाले सावधानी अपनाउन सबैसँग आग्रह गरेको छ ।

नदीको वहाब बढेकाले काठ उतार्न, माछा मार्न, पानीसँग खेल्न र नदी खोला नजिक नजान सबैमा आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नदी, खोला नजिक गएर दाउरा, बालुवा, गिट्टी, सङ्कलन नगर्न र नदी खोलामा नुहाउन, माछा मार्न तथा जरुरी काम बाहेक एक्लै हिँड्ने काम नगरी उच्च सर्तकता अपनाउन पनि स्थानीय प्रशासनले सबैसँग आग्रह गरेको छ ।
सेती नदी र बहुलीगाड खोलामा पानीको वहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा छ । जोखिम बढेसँगै सदरमुकामवासीमा कुन बेला सदरमुकाम बगाउने हो भन्ने चिन्ता छाएको स्थानीयवासी निरनराम जोशीले बताउनु भयो । ‘सेती र बाहुली खोलाले सदरमुकाम आसपासको कतै न कतैको जमिन हरेक वर्ष कटान गरेकै हुन्छ, ‘ उहाँले भन्नुभयो ।
बहुलीगाडले बेला(बेलामा आफ्नो धार परिवर्तन गर्दै आएको छ । सदरमुकामको पूर्वी भागबाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाडमा बाढी आएमा एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा छ ।
बाहुली खोलाको वितण्डापछि सदरमुकाम बचाउन अभियान सञ्चालन गरेपछि सेती नदी र बाहुलीगाडतर्फ तटबन्धन निर्माण गरिएको छ । लगातारको वर्षाका कारण बाहुलीखोलामा आएको बाढीले आरसीसी गरिएको तटबन्ध बगाएको छ भने खोला छेउमै रहेको चैनपुर बसपार्क पनि बगाएको छ । त्यस्तै सिमखेत बजारका एउटा अटोपार्टस बगाएको छ, भने एक घर जोखिममा छ । बाहुली खोला किनारमा रहेका बङ्गुर र कुखुराका खोर बगाएको छ ।
टेलिफोन, एफएम रेडियो र विद्युत् सेवा पनि अवरुद्ध
सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूणर्रुपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ ।
सञ्चार सम्पर्क विच्छेद हुँदा पहाडी जिल्लामा बाढी तथा पहिरोका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न नसकिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले जानकारी दिनुभयो ।
विद्युत् प्राधिकरणका अनुसार वर्षासँगै आएको हावाहुरीले पहाडी जिल्लाका विभिन्न स्थानमा विद्युत् पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ । नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख नामाकर न्यौपानेले पहाडी जिल्लामा विद्युत् नभएकै कारण नेपाल टेलिकमको टेलिफोन सेवा पनि पूर्ण रुपमा अवरुद्ध भएको जानकारी दिनुभयो।
यसैगरी सौर्य ऊर्जामा आधारित बझाङका टेलिफोन टावरमा राखिएको सोलारमा चार्ज नहुँदा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । लगातारको वर्षाले जिल्लामा बाढीपहिरोको जोखिम रहेको र केही भइहाले पनि अत्यावश्यक कामका लागि खबर गर्न नेटवर्क नहुँदा निकै सास्ती भएको खप्तडछान्ना गाउँपालिका ४ का ईश्वर रोकायाले बताउनु भयो ।
नेपाल टेलिकम जिल्ला शाखाका निमित्त प्रमुख बमबहादुर सिंहले टेलिफोनका टावरमा विद्युत् सेवा नपुगेको र सोलार प्यानलबाट चार्ज नहुँदा लामो समय पानी परेको र बादल लागेको दिन नेटवर्क अवरुद्ध हुने गरेको बताउनुभयो । सौर्य ऊर्जाको भरमा सञ्चालित बझाङका एफएम रेडियोको प्रसारण पनि अवरुद्ध भएको छ ।
जिल्लामा रहेका ९ वटै एफएम रेडियोको रिले स्टेशनमा सौर्य ऊर्जा जडान गरिएको छ । रिले स्टेशनमा घाम नलाग्दा ब्याट्री चार्ज हुन नपाएकोले सोमबार साँझबाट सबै रेडियोको नियमित प्रसारण अवरुद्ध हुँदा सूचना प्रवाहमा समस्या भएको जयपृथ्वी एफएमका अध्यक्ष प्रताप ओलीले बताउनुभयो । आइतबार साँझदेखि जिल्लामा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज ठप्प भएका छन् । प्रादेशिक विद्युत् प्राधिकरण अत्तरियाका अनुसार राष्ट्रिय प्रसारण लाइन पुगेका ६ पहाडी जिल्लामा विद्युत् अवरुद्ध भएको छ । हावाहुरी तथा अविरल वर्षाका कारण अत्तरिया चमेलिया प्रसारण लाइनमा समस्या देखिदा विद्युत् सेवा अवरुद्ध भएको हो ।
जयपृथ्वी राजमार्ग पनि अवरुद्ध
अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । केदारस्यूँ गाउँपालिका १ नारुगौडास्थित बाढीले सडक बगाएपछि सो राजमार्ग अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव बढेकाले राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनु भयो । राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारीसाधन र यात्रुबीच बाटोमै अलपत्र परेका छन् ।
विभिन्न ठाउँमा गएको पहिरोले सयौं परिवार विस्थापित हुन पुगेका छन् । बाढीका कारण लघु जलविद्युत् आयोजना, नहर, विद्यालय, ग्रामीण सडकमा क्षति पुगेको छ । पहिरोले सयौं रोपनी खेत पनि बगाएको छ । मोबाइलमा नेटवर्क नहुँदा क्षतिको विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख नायब उपरीक्षक रुपक खडकाले बताउनु भयो ।
जिल्लाका ३९५ स्थान बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ । जयपृथ्वी नगरपालिकाका ११६, बुङगल नगरपालिकाका ५१, साइपाल गाउँपालिकाका ११, तल्कोट गाउँपालिकाका २५, मष्टा गाउँपालिकाका ५१, सुर्मा गाउँपालिकाका १३, छविसपाथिभेरा गाउँपालिकाका २२, दुर्गाथली गाउँपालिकाका १३, खप्तडछान्ना गाउँपालिकाका २०, थलारा गाउँपालिकाका १०, केदारस्युँ गाउँपालिकाका ३४, वित्थडचिर गाउँपालिकाका २९ स्थान जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताउनु भयो । फोटोः सुरक्षा स्रोत










