निजामती कर्मचारी संगठनका अध्यक्ष पुरुषोत्तमद्वारा युवा क्लबलाई २५ हजार सहयोग प्रदान

नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले सुनौलो युवा क्लब वेलघारीलाई २५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेकाछन् ।
आज वेलघारीमा भएको गाउँपालिका अन्तर वडा स्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा उहाँले क्लबलाई आर्थिक सहयोग गरेका हुन् ।
वडा नं. १ सँगको साझेदारीमा सुनौलो युवा क्लबले मैत्रीपूर्ण वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद दिँदै उनले समाजमा लुकेर बसेका फोहोर मैला फ्याँकी समाजलाई सभ्य र सुसुकृत बनाउन युवा क्लबलाई आग्रह गरेका थिए ।
प्रतियोगिताको समापन कार्यक्रममा सम्बोधन गर्दै सिङ्गो तीनपाटन गाउँपालिकाको विकास र समृद्धिका लागि युवाको एकता बिना सम्भव नभएको भन्दै सबै युवा क्लबहरूले विकृति र विसङ्गतिको भण्डाफोर गर्न समेत आग्रह गरे ।
पालिकामा भएका नीति र विधि विपरीतका गतिविधिका बारेमा समाचार तथा सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भएको भन्दै यस्ता विषयमा जिम्मेवार व्यक्तिहरूले जनतालाई यथार्थ जानकारी गराउनु पर्ने बताए ।
परिवर्तनका संवाहक मानिएका युवाहरूको पहलले आज भएको भलिबल प्रतियोगिताले युवा खेलाडीहरूले खेल्ने अवसर पाएको भन्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरे । उनले पालिकाको विकास र निकासका लागि आफूले गर्न सक्ने सहयोग गर्दै आएको र भोलिका दिनमा पनि गर्ने बताएका थिए ।