नेपालको संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गरेका छन्।
राष्ट्रपति भण्डारीलाई भारत, बङ्गलादेश, श्रीलङ्का, संयुक्त राज्य अमेरिका, रुसी महासङ्घ, सङ्घीय गणतन्त्र जर्मनी, स्विटजरल्याण्ड, पोर्चुगलका राष्ट्रपति, जापानका सम्राटलगायत २३ राष्ट्रका राष्ट्रप्रमुखले शुभकामना सन्देश पठाएका छन्। शुभकामना सन्देश प्राप्त हुनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसै अवसरमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारत सरकार, भारतीय जनता र स्वयम् आफ्नोतर्फबाट राष्ट्रपति भण्डारीमा शुभकामना व्यक्त गर्दै पठाएको सन्देशमा उनले ऐतिहासिक, सांस्कृतिक, आर्थिक र पारिवारिक सम्पर्कले चिनिएको भारत र नेपालबीचको सम्बन्ध चिरस्थायी रहेको बताएका छन्।
संविधान दिवसको उपलक्ष्यमा अमेरिकी राष्ट्रपति जो वाइडेनले राष्ट्रपति नेपाली जनता र राष्ट्रपति भण्डारीप्रति हार्दिक बधाई ज्ञापन गरेका छन्। सन्देशमा उनले बितेको वर्ष कोभिड–१९ को महामारी र जलवायु परिर्वतनले निम्त्याएका सङ्कटको सामनाका साथै आर्थिक सम्बन्ध सुधारका निम्ति दुवै देशले सहकार्य र सहयोग गरेका बताएका छन्।
त्यस्तै, संविधान दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका छन्।
संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता–जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताउँदै उनले सन्देशमा दुवै देशबीचको अनुपम एवम् विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीचमात्र रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री देउवा र समस्त स्नेहशील नेपाली जनताको सुस्वास्थ्यको कामना पनि प्रधामन्त्री मोदीले सन्देशमा गरेका छन्। संविधान एवम् राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री देउवालाई हालसम्म बङ्गलादेश, श्रीलङ्का, म्यान्मा र लाओसका प्रधानमन्त्री तथा बेलारुसका परराष्ट्रमन्त्रीले शुभकामना सन्देश पठाएका छन्। अन्य राष्ट्रबाट पनि शुभकामना प्राप्त हुने क्रम जारी रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए











