देउवा सरकार संकटमाः सरकार टिकाउनका लागि भाजपाका शक्तिशाली नेता गोप्य नेपाल भ्रमणमा

नेपालको राजनीतिसँगै नयाँ सत्ता समीकरणमा तनाव उत्पन्न भएपछि भारतीय जनता पार्टीका एक प्रभावशाली नेता गोप्य भ्रमणमा काठमाडौँ आइपुगेका छन्।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहयोगी भूमिकामा रहेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र तथा एकीकृत समाजवादीले समानान्तर समीकरण बनाउन थालेपछि ती नेता नेपाल आएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादीका अध्यक्ष केपी ओलीसँग निकट मानिने ती प्रभावशाली  नेताको भ्रमणको एउटा उद्देश्य देउवा र ओलीलाई फेरि निकट ल्याउने प्रयास गर्नु रहेको अड्कलबाजी गरिएको छ।

प्राप्त जानकारीका अनुसार ती नेताको नेपालमा रहेका राष्ट्रिय स्वयंसेवक संघका प्रचारकहरुमाथि ठूलो प्रभाव छ र ओली शासनलाई उनीहरुको समर्थन हासिल हुनुमा यी नेताको भूमिका रहेको बताइन्छ।

भाजपाका यी नेताले भारतीय दूतावासलाई समेत आफ्नो नेपाल आगमनबारे जानकारी नदिएको स्रोतले बतायो। संयोग उनको नेपाल आगमन अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीकी उपाध्यक्ष फातिमा सुमारको नेपाल यात्रासँग जुधेको छ। ती नेताले ओली र देउवालाई भेट्ने निश्चित रहेको पनि स्रोतले बतायो।