सरकारले नेपालमै कोभिड बिरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूलाई बताए ।
बैठकले आर्थिक बर्ष २०७८।७९ बजेट बक्तव्य मार्फत ३३ प्रतिशतले बृद्धि भएको सामाजिक सुरक्षा भत्ता, मासिक भत्ता कायम गर्ने निर्णय गरेको छ ।
यस्तै, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा कास्कीका श्री विश्वमोहन अधिकारीलाई नियुक्त गरेको छ भने नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा डा. बिक्रान्त ढकाललाई नियुक्त गरेको छ ।
यस्तै, राजपत्राङकित प्रथम श्रेणीका सहसचिवव श्री राजकुमार श्रेष्ठलाई बिशिष्ट श्रेणी सचिव पदमा वढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
उपसचिवहरु कृष्णचन्द्र अर्याल र धनबहादुर वलीलाई सहसचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी, धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको हो ।
जसको विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र अर्का सदस्य नेपाल कानुन आयोगका सहसचिव अर्जुनककुमार खड्का रहेका छन् ।











