सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको सुनावाइ संवैधानिक इजलासमा हुने भएको छ । पटक–पटक पेसी चढेर सुनुवाइ नभएको उक्त मुद्दा आज पनि पेसी चढेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ । नियमित पेसीमा चढे पनि यो मुद्दा आजै सुनुवाइ हुने नहुने निधो भने छैन । माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा २०६८ सालमा मुद्दा परेको थियो ।
१० वर्षदेखि सर्वोच्च अदालतमा विचराधिन उक्त मुद्दा हालसम्म २० पटक पेसीमा तोकिए पनि अन्तिम सुनुवाइ हुन नसकेको यो मुद्दा सर्वोच्च अदालतले संवैधानिक इजलासको साप्ताहिक पेसी सूचीमा सापकोटा विरुद्धको मुद्दालाई पहिलो नम्बरमा राखेको छ । अर्जुन लामाकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते सापकोटा विरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा करिब १० वर्ष देखि विचाराधीन रहेको छ ।
२०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका काभ्रे छत्रे बाँझका अर्जुन लामाको शव दुई महिनापछि काभ्रेकै साविक बुढाखानी गाविसको चारकिल्ला भन्ने ठाउँमा गाडेको अवस्थामा फेला परेको थियो । लामाको हत्यामा सापकोटा र सूर्यमान दोङ संलग्न भन्दै पूर्णिमायाले दायर गरेको जाहेरी दरखास्तलाई २०६४ असार २६ गते काभ्रे जिल्ला प्रहरी कार्यालयले सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत् मिलाइने भन्दै दरपिठ गरेको थियो ।