माधव नेपालको साथ छाडेका नेतालाई आह्वानः आउनुहोस्, नेतृत्व हस्तान्तरण गर्न म तयार छु

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गरेका छन्।

अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोडन तयार रहेको घोषणासमेत गरे।

आफ्नो पार्टी निकट पेशागत महासंघ, नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले पदका लागि कहिल्यै पनि लडाइ नगरेको पटक–पटक दोहोर्‍याए।

अध्यक्ष नेपालले भने, ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु। आउनुहोस्– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस्। म अध्यक्ष पदबाट त अहिल्यै भनि हाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै विदा भइहाल्छु, भएन? पदको लडाइँ होइन, यो। विचारको लडाइँ हो, यो। सिद्धान्तको लडाइँ हो यो। मूल्य र मान्यताको लडाइँ हो यो।’

अध्यक्ष नेपालले केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको तर्कसमेत गरे। उनले आफूविरुद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

आफूविरुद्ध कुप्रचार भइरहेको भन्दै अध्यक्ष नेपालले त्यस्ता झुट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। उनले भने, ‘खाली कूप्रचार बाहेक केही पनि छैन। यस्ता झुटा प्रचारको भ्रममा कोही पनि नपर्नुहोस्। उनीहरुको काम नै गोयबल्स शैलीको प्रचार गर्ने हो। मान्छेको चरित्र हत्या गर्ने प्रवृत्ति हो। यस्ता प्रवृत्ति भएका मान्छेहरु इमान्दार, क्रान्तिकारी कम्युनिष्ट हुन सक्छन्?’

अध्यक्ष नेपालले समाजवादको बाटो तय गर्दै देश र जनताको हितमा केन्द्रित भइ काम गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको पनि बताए। सो अभियानमा पदलोलुप नभइ काम गर्न उनले पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिए।