संयुक्त राष्ट्रसङ्घ भन्छ- ‘तालिबानले घरघर गएर तलासी लिइरहेका छन्’

कावुलमा रहेको सिनेमा हलमा टाँसिएको पोस्टर र तालिवान प्रवेश गरेपछि कालोपोतिएको दृश्य । फोटोः एजेन्सी

संयुक्त राष्ट्रसङ्घको एउटा दस्तावेजमा तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरूको खोजी कार्यलाई तीव्र बनाएको चेतावनी दिइएको छ।

उक्त दस्तावेजमा तालिबानले घरघरै गएर त्यस्ता व्यक्तिहरूको खोजतलास गरेको र उनीहरूका परिवारका सदस्यहरूलाई धम्क्याएको उल्लेख छ।

उक्त कट्टरपन्थी इस्लामवादी समूहले शक्ति हातमा लिएपछि अफगानहरूलाई कुनै पनि बदला नलिने भन्दै आश्वस्त पार्ने कोसिस गरेको थियो।

तर अहिले पनि सन् १९९० ताकाको तालिबानमा सामान्य मात्र परिवर्तन आएको जस्तो देखिएकाले त्रास पैदा भएको छ।

तालिबानले विदेशी फौज र पूर्ववर्ती सरकारका “सहयोगीहरू”लाई तारो बनाएको भन्ने चेतावनी राष्ट्रसङ्घका लागि गोप्य सूचना सङ्कलन गर्ने आरएचआईपीटीओ (रिप्टो) नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य दस्तावेजमा दिइएको हो।

“तालिबानद्वारा तारो बनाइएका व्यक्तिहरू अहिले उच्च सङ्ख्यामा रहेका छन् र तिनलाई धम्की दिइएको कुरा स्पष्ट छ,” उक्त प्रतिवेदन बनाउने समूहको नेतृत्व गर्ने क्रिश्चियन नेलेमेनले बीबीसीसँग भने।

उनले तालिबानको सूचीमा रहेकाहरू एकदमै धेरै खतरामा रहेको र अफगानिस्तानमा आमहत्या हुनसक्ने चेतावनी पनि दिएका छन्। तालिबानले गत आइतवार काबुल कब्जा गरेको थियो। उसले विदेशी सेनाले देश छाडेपछि अफगानिस्तानभरि नियन्त्रण कायम गर्न थालेको थियो। उक्त विजयले उनीहरूलाई २० वर्षपछि पुन: अफगान शक्तिको केन्द्रमा ल्याइदिएको छ।

२० वर्षअघि अमेरिकी नेतृत्वको फौजले उक्त समूहलाई सत्ताच्यूत गराइदिएको थियो। पहिले शक्तिमा रहँदा तालिबानले सार्वजनिक स्थलमा मृत्युदण्ड दिने र महिलाहरूलाई पढ्न तथा काम गर्न नदिनेजस्ता गतिविधि गरेको थियो।

तर यसपटक काबुलमा नियन्त्रणपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले इस्लामिक कानुन अन्तर्गत नै महिलाको अधिकारलाई सम्मान गर्ने बताएका थिए। तालिबानले आन्तरिक र बाह्य कुनै पनि शत्रु नचाहेको बताएको छ।

त्यस्तै उसले विदेशी शक्ति र पूर्ववर्ती सरकारमा रहेर काम गरेका सबैलाई आममाफी दिने बताइसकेको छ। तर अन्तर्राष्ट्रिय शक्ति र कैयौँ अफगानहरू अहिले पनि तालिबानमाथि शङ्का गरिरहेका छन्।

वर्ल्ड ट्रेड टावर ध्वस्त भएको भोलिपल्ट अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले प्रतिज्ञा गरेका थिए, “यो लडाइँमा समय र सङ्कल्प लाग्नेछ तर त्यसबारे कुनै गल्ती हुनेछैन र हामी युद्ध जित्नेछौँ।”

वास्तविकतामा चाहिँ अमेरिका कहिल्यै तालिबानमाथि सैन्य विजयको नजिक पनि पुगेन।

तथापि सेप्टेम्बर ११ को हमलामा जिम्मेवार अलकायदाका लडाकुलाई शरण दिएको उक्त समूह नेटोको हस्तक्षेपसँगै सहरी क्षेत्रबाट व्यापक रूपमा पछि धकेलियो।

तालिबानले पुन: सङ्गठित हुन लामो समय लगायो र सन् २००४ पछि उक्त समूह नयाँ अफगान सरकार र पश्चिमा फौजविरुद्ध विद्रोह सुरु गर्नसक्ने अवस्थामा थियो। बढ्दो हमलाहरूको प्रतिकार गर्न अमेरिकी राष्ट्रपति बराक ओबामाले सन् २००९ मा नेटो सेनाको सङ्ख्या बढाउने निर्णय गरे।

सबैभन्दा धेरै नेटो फौज भएका बेला अफगानिस्तानमा त्यसको सङ्ख्या एक लाख ४० हजारसम्म पुगेको थियो। त्यसले फेरि एक पटक तालिबानलाई पछि धकेल्न त मद्दत गर्‍यो तर त्यसका असरहरू दीर्घकालीन थिए।