नेकपा (एमाले)का २६० मध्ये ५८ केन्द्रीय सदस्य मात्रै माधव नेपालको एमाले समाजवादीमा लागे

एमाले बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता गर्नुभएको छ । आफू अध्यक्ष, र झलनाथ खनाल वरिष्ठ नेता रहने ब्यवस्थासहित नेपालले ९५ केन्द्रीय सदस्य कायम गरी नयाँ पार्टी दर्ता गराउनु भएको हो ।
सरकारले अध्यादेश ल्याएर २० प्रतिशत भए दल बिभाजन गर्न पाइने ब्यवस्था गरेपछि नेपालले खनाललाई समेत आफ्नो पछि लगाएर आयोगमा आज नयाँ पार्टी दर्ता गर्नुभएको हो ।

नेपालको पार्टीमा एमालेका २ सय ६० केन्द्रीय सदस्यमध्ये ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुबै सदनका गरी ३१ सांसदले माधवलाई साथ दिनुभएको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । माधवको नयाँ पार्टीमा उहाँलाई लामो समयदेखि साथ दिँदै आउनु भएका हस्तीहरुले बाइबाइ गर्नुभएको छ । उपाध्यक्ष बामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यसहित सुरेन्द्र पाण्डे, रघुजी पन्तले माधवको पार्टीमा नजाने निर्णयसहित हस्ताक्षर नगर्नु भएको हो ।