एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूह दुई धारमा बिभाजित बनेको छ । एमालेलाई बलियो बनाउनु पर्ने पक्षमा उभिनुभएका दोस्रो पुस्ताका नेताहरुलाई ठेगान लगाउन माधवले बोलाउनु भएको आफू निकट केन्द्रीय सदस्यको बैठकबाट सो समुहभित्र दुई धार प्रष्ट रुपमा बाहिर आएको हो ।
माधव समुहमा जसरी पनि पार्टी एकता गर्नुपर्ने र अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना सकिएकाले विद्रोह गरेर देउवा सरकारमा सहभागी हुनुपर्ने प्रस्ट दुई थरी मत देखिएको हो । नेपाल समूहका केन्द्रीय सदस्यहरूको शुक्रबार सकिएको बैठकमा दोस्रो तहका नेताहरूले पार्टी एकता निर्विकल्प रहेको बताउनु भयो भने केही सांसदसहित अधिकांशले विकल्पमा जानुपर्ने धारणा राखे । आफ्नै समुहमा दुई धार देखिएपछि माधवसमेत तत्काल देउवा सरकारमा गएर अग्रगामी छलाङ मार्ने पूर्वमान्यताबाट पछि हटनु परेको छ । दुई धारकै कारण एकता वा बिभाजनबारे निर्णय गर्ने जिम्मा स्थायी कमिटीमा रहेका नेताहरुलाई दिइएको छ ।
नेता नेपालले एकता कि विद्रोह भन्नेमा निर्णायक कदम चाल्न परामर्शका लागि आफ्नो समूहका केन्द्रीय सदस्यहरूको बैठक बिहीवार र शुक्रवार बोलाउनु भएको थियो । बैठकको अध्यक्षता गर्दै सुरुमा नेता नेपालले एकताका लागि विश्वासको संकट रहेको बताउँदै खुलेर सुझाव दिन भन्नुभएको थियो । तर बैठकमा उपाध्यक्ष भीम रावलसहित प्रभावशाली नेताहरु दृढ अडानमा उभिएपछि माधव आफै ब्याक हुनुपरेको छ । माधव समुहको बैठकमा ५५ सदस्यले धारणा राखेका थिए ।
बैठकमा विवाद समाधानका लागि गठित कार्यदलका सदस्यको भूमिकामाथि पनि प्रश्न उठेको थियो । तर कार्यदलका सदस्यहरूले दसबुँदे सहमतिको प्रस्ताव उपलब्धिमूलक रहेको निश्कर्ष सुनाउनु भएको छ । बैठकमा उपाध्यक्ष भीम रावल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, सचिव भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्तसहितका नेताहरुले दसबुँदे सहमति कार्यान्वयन गरेर एकतामा जानुपर्ने मत राख्दै माधवलाई चुनौती दिनुभएको थियो । सचिव योगेश भट्टराई पनि एकताकै पक्षमा उभिनुभएको छ । यस्तै केन्द्रीय सदस्यहरू निरज आचार्य, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, रवीन्द्र अधिकारी, यज्ञ सुनुवार, झपट रावल, बलदेव चौधरीलगायतले पनि निर्विकल्प एकताको पक्षमा आफूलाई उभ्याउनु भएको छ । उहाँहरुले एमाले विभाजन भए देश र संविधानमा क्षति हुने तर्क गर्नुभएको थियो ।
एमालेमा रहन नहुने तर्क पनि सो बैठकमा आएको छ । उपाध्यक्ष युवराज ज्ञवालीससहित मुकुन्द न्यौपाने, बेदुराम भुसाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, जगन्नाथ खतिवडा, घनेन्द्र बस्नेत, डा.विजय पौडेल, बलराम बाँस्कोटा, वसन्त मानन्धर, रामचन्द्र यादवलगायतले बिभाजनकै पक्षमा जानु पर्ने तर्क गर्नुभएको छ । केन्द्रीय सदस्य मेटमणि चौधरी र प्रेम आलेले भने तत्कालै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अडान राख्नुभएको छ । विश्वासको मत दिएर संसद् जोगाएको भन्दै सरकारमा जानुपर्ने तर्क आले र चौधरीको थियो ।