धनी देशहरुलाई तत्काल खोपको थप मात्रा नलगाउन डब्लुएचओकाे अपिल

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कम्तीमा आउँदो सेप्टेम्बरको अन्त्यसम्म कोरोना भाइरसविरुद्धको खोपको ‘बुस्टर’ अर्थात थप मात्रा नलगाउन अपिल गरेको छ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले विकसित देशमा खोपको पूर्ण मात्रा लगाएकाहरुलाई थप सुरक्षाका लागि बुस्टर मात्रा लगाउने योजना तत्कालका लागि रोक्न आग्रह गरेका हुन्।

सेप्टेम्बरको अन्त्यसम्ममा बुस्टर मात्राको योजनालाई रोकिँदा विश्वका सबै देशमा कम्तीमा १० प्रतिशत मानिसले कोरोना भाइरस विरुद्धको खोप लगाउन पाउने उनको भनाई छ।

इजरायल र जर्मनीसहितका देशले खोपको पूर्ण मात्रा लगाएका आफ्ना नागरिकलाई बुस्टर मात्राका रुपमा खोपको तेस्रो खुराक दिने योजना सार्वजनिक गरेका छन्। तर विश्वका गरिब देशहरुमा अहिले खोपको अभाव रहेको र उनीहरु निकै पछि परेको अवस्थामा धनी देशहरुले पूरा मात्रा लगाएकाहरुलाई थप मात्रा खोप दिने योजना सान्दर्भिक नहुने डब्लुएचओका प्रमुखको भनाई छ।

डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोस। तस्बिर : राेयटर्स

डब्लुएचओका अनुसार आपूर्ति कम हुँदा विश्वका गरिब देशले प्रति १०० जनामा मात्रै १.५ मात्रा खोप लगाउन सकेका छन्। तेस्रो मात्राका रुपमा दिने तयारी गरिएको खोप गरिब देशहरुलाई पठाएर महामारी नियन्त्रणका लागि भूमिका खेल्न डब्लुएचओ प्रमुखले आग्रह गरेका छन्। यसो गरिँदो खोपको पहुँचमा धनी र गरिब देशबिच रहेको असमानता कम हुने डब्लुएचओको भनाई छ।

अहिलेको अवस्था हेर्दा आउँदो महिनाको अन्त्यसम्ममा सबै देशमा कम्तीमा १० प्रतिशतले खोप लगाउन पाउन् भन्ने लक्ष्य पूरा हुने संकेत भने देखिएको छैन।

हाइटी र डेमोक्र्याटिक रिपब्लिक अफ कंगोका कुनै पनि नागरिकले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन्। तर इजरायलले ६० वर्ष माथिको उमेर समूहका लागि तेस्रो मात्रा खोप लगाउन थालेको छ।

यस्तै जर्मनीले गएको मंगलबार मोदेर्ना र फाइजर खोपको तेस्रो मात्रा दिने योजना सार्वजनिक गरेको थियो। अमेरिकाले अहिलेसम्म तेस्रो मात्रा खोपको योजना सार्वजनिक गरेको छैन, तर त्यसबारे चर्चा भने भइरहेको छ।