निर्माण सम्पन्न भइनसकेको भवनलाई थप १ करोड रकम बिनियोजनका विषयमा कुरा नमिल्दा तीनपाटन गाउँपालिकाको गाउँसभा बैठक अझै बसेन, हामीले गाउँपालिकासँगै पैसा मागेकै छैनः ठेकेदार

गाउँपालिका अध्यक्षका बीच रकम बिनियोजनका विषयमा कुरा नमिल्दा गएको असार १० गते भएको तीनपाटन गाउँपालिकाको गाउँसभाको बैठक यो समाचार तयार पार्दासम्म सम्पन्न भएको छैन ।
सरकारले असार १५ गतेसम्म गाउँसभा सम्पन्न गरिसक्न निर्देशन दिएपनि निर्माणाधिन गाउँपालिकाको प्रशासनिक भवनका लागि संझौतामा तोकिए भन्दा थप १ करोड रुपैयाँ अध्यक्ष कर्णवहादुर थापाले छुट्याएपछि कार्यपालिका सदस्यहरुले त्यसलाई अस्वीकार गर्दा गाउँपरिषद रोकिएको हो । गाउँपरिषद रोकिएको सन्दर्भमा सन्देश जनप्रिय साप्ताहिकले गाउँपालिका अध्यक्ष कर्ण थापासँग पटक पटक फोन सम्पर्क गर्दा फोन रिसिभ भएन । त्यसैगरी गाउँलिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सुवेदीले भदौ महिनामा गाउँसभाको बैठक बस्ने जानकारी दिए । उनले निर्माणाधिन भवनलाई १ करोड देखी डेढ करोड रुपैयाँ बिनियोजन गर्ने सन्दर्भमा कार्यपालिमा छलफल भएको भएपनि सहमति नभएको बताए । उनले अध्यक्षज्यू पार्टीको अधिवेशनमा व्यस्त भएकाले पनि गाउँसभाको बैठक बस्न नसकेको जनाए । भदौ लागेपछि बसौं भन्ने कुरामा सबैको सहमति भएको दाबी पनि उनले गरेकाछन् । गाउँपरिषद नभएको वारे गाउँपालिका उपाध्यक्ष पदममायाँ तामाङले भने गाउँपालिकाको निर्माणाधिन भवनमा रकम बिनियोजन गर्दा अध्यक्षज्यूले दबाब दिएपछि कार्यपालिकाको बहुमत सदस्यले त्यसलाई स्वीकार्न नसक्दा समस्या सिर्जना भएको बताइन् । सन्देश जनप्रियसँगको कुराकानीमा संझौतामा उल्लेख भएको भन्दा बाहिर गएर भवन बनाउने ठेकेदारलाई घाटा लागेको १ करोड रकम छुट्याउन अध्यक्षज्यूले प्रस्ताव पेश गरेपछि कार्यपालिका सदस्यहरुले मान्नुभएन, त्यसपछि यो रकम नछुट्याउँदासम्म बैठक पनि बस्दैन भन्दै स्थगित भएको गाउँसभाको बैठक अहिलेसम्म नबसेको हो । ठेकेदारका तर्फबाट भवन बनाउने क्रममा धाटा भयो भनेर लिखित रुपमा कार्यालयमा थप रकम निकासाका लागि माग गरेको मेरो जानकारीमा छैन, यस्तो अबस्थामा हामीले अध्यक्षज्यूको प्रस्तावलाई सहजै स्वीकार्न सकेनौं, उपाध्यक्ष तामाङले भनिन् । संझौता अनुसारको काम सम्पन्न भएकै छैन, यस्तो अबस्थामा ठेकेदारलाई पोस्नेगरी रकम छुट्याउन नसकिने वडाध्यक्षहरुको भनाई रहेको छ । त्यसैगरी तीनपाटन गाउँपालिकाका सुचना अधिकारी गोपालप्रसाद पाहाडीले गाउँपालिकाको निर्माणाधिन भवनका लागि १ करोड रकम थप छुट्याउने विषयमा कार्यपालिका सदस्यहरुका बीचमा मतभेद भएपछि गाउँपालिकाको गाउँसभाको सम्पन्न नभएको हो ।

उपचारको शिलशिलामा काठमाडौमा रहेको बताउँदै उनले ठेकेदार भरत कार्कीले थप रकम मागेपछि पालिका अध्यक्षले १ करोड रुपैयाँ थप्न प्रस्ताव गर्नुभएको तर सदस्यहरुले विरोध गरेपछि गाउँसभा बीचमैं रोकिएको जानकारी दिए । भदौ लागेपछि कुरा पनि मिल्छ र गाउँपरिद बैठक बसेर सबै विषयमा टुंगो लाग्ने अध्यक्ष थापाबाट आफुले जानकारी पाएको पनि बताए । संझौता अनुसारको काम सम्पन्न भएपछि मात्रै थप रकम निकासा गर्नुपर्ने होइन ? भन्ने सन्देश जनप्रियको प्रश्नमा उनले कानूनी कुरा आफुलाई थाहा नभएको बताए । गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि एएम पाइनस जेभी काठमाडौलाई मिति २०७७/३/२५ मा कार्य सम्पन्न गर्नेगरी मिति २०७६/१०/९ गते कार्यदेश दिइएको देखिएको छ । सो कार्यदेशमा ४ करोड बयासी लाख ८ हजार २ सय ८२ रुपैयाँमा प्राविधिक डिजाइन, स्टिमेट, स्पेशिफिकेशन र गुणस्तरीयतालाई ध्यान दिंदै काम अगाडि बढाउन भनिएको छ । यसैबीच गाउँपालिकाको प्रशासनिक भवन निर्माणको जिम्मा लिएको एएम पाइनस जेभिका ठेकेदार भरत कार्कीले ठेक्काका क्रममा घाटा लाग्यो भन्दै गाउँपालिकामा आफुहरुले रकम नमागेको बताएका छन् । उनले सन्देश जनप्रियसँग मंगलवारसाँझ टेलिफोनमा भनेः हामीले तीनपाटन गाउँपालिकामा भवन निर्माणमा घाटा लाग्यो भनेर रकम मागेका छैनौं, संझौतामा उल्लेख भए अनुसारको मात्रै काम गर्छौ, संझौतामा उल्लेख भएको रकमले जति काम हुन्छ त्यतिनैं गर्छौ । उनले अगाडि भनेकाछन्ः हामीले संझौता र प्राविधिक स्टिमेट अनुसार भएका कामको मात्रै रकम माग गर्ने हो । कामैं सम्पन्न भएको छैन, रकम माग गर्ने भन्ने कुरै हुँदैन । तीनपाटनको प्रशासनिक भबन निर्मामा बढी रकम खर्च भयो भन्दै १ करोड रुपैयाँ किन छुट्याउन खोजियो ? ठेकेदारले रकम मागेका छैनौं भनेका बेला पालिका अध्यक्ष थापाले गाउँपारिषद रोकेर किन जनताको विकासमाथि नैं अबरोध गराइरहेकाछन् ? कतै आर्थिक लाभका लागि ठेकेदारलाई दिन भन्दै यस्तो गरेका त होइनन् भन्ने गंभीर प्रश्न उठेको छ ।