अमेरिकी र अफगानिस्तानी सेनाको तर्फबाट लगातार हवाई हमलापछि तालिबानका लडाकूले हेलमन्द प्रान्तको राजधानी लश्कर गाहमा हमला गरेको छ । तालिबानले एक टिभी स्टेशनमा पनि कब्जा जमाएको र हज्जारौं मानिस गाउँबाट भागेर भवनमा शरण लिइरहेको बताइन्छ । एक अस्पतालका डाक्टरले बीबीसीसँगको कुराकानीमा भने, ‘यहाँ चारैतिर लडाइँ चलिरहेको छ । ’
हेलमन्द प्रान्त पहिलादेखि नै अमेरिकी–बेलायती सेनाको अभियानको केन्द्र थियो, यस्तोमा यदि यसको राजधानी लश्कर गाहमा तालिबानको कब्जा भएको खण्डमा यो अफगानिस्तान सरकारका लागि निकै ठूलो झट्का हुनेछ ।
यदि लश्कर गाह तालिबानको नियन्त्रणमा आउँछ भने सन् २०१६ पछि यो तालिबानको कब्जामा आउने कुनै प्रान्तको पहिलो राजधानी शहर हुनेछ ।
रेडियो र टिभी च्यानलको काम बन्दः
यसअघि सोमबार अफगानिस्तानको सूचना र प्रसारण मन्त्रालयले हेलमन्दमा ११ रेडियो र टिभी च्यानलले तालिबानको ‘हमला’ र ‘धम्की’ का कारण काम गर्न बन्द गरेको छ ।
सेप्टेम्बरसम्म करिब सबै विदेशी सैनिकले उक्त इलाका छोड्ने घोषणा भएदेखि तालिबानले ग्रामीण इलाकामा तीब्र रुपमा आफ्नो कब्जा बढाइरहेको छ ।अब हमलाको मार झेलिरहेका यी प्रमुख शहरको भाग्य महत्वपूर्ण मोडमा खडा छ । मानवीय संकटको डरका साथै सरकारी सुरक्षाबल आखिर कहिलेसम्म टिक्न सक्ला भन्ने आशंका पनि छ ।

लश्कर गाहको अवस्था कस्तो छ?
लश्कर गाहका एकजना चिकित्सकले कैयौँ दिनको लगातारको लडाइँका कारण उक्त सहरलाई निकै अप्ठेरोमा पारेको र अधिकांश मानिसहरू हिँडडुल गर्न पनि डराएको बताएका छन्।
चिकित्सा परोपकारी संस्था एमएसएफका डाक्टर मसूद खानका अनुसार गम्भीर घाइते भएर अस्पताल आउने बिरामीहरूको सङ्ख्या पनि बढिरहेको छ।
उनले अन्य कैयौँ घाइतेहरू अस्पतालसम्म आउन पनि डराइरहेको बताए। उनका भनाइमा त्यस क्षेत्रमा औषधि र मेडिकल सामानको अभाव हुन थालेको छ।
अमेरिका के भन्छ ?
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले तालिबानले गरेका अत्याचारका गम्भीर खाले घटनाहरू देखापरेको बताएका छन्।
उनले खतरामा परेका अफगानहरूका लागि नयाँ शरणार्थी कार्यक्रम सञ्चालन गर्न महत्त्वपूर्ण कूटनीतिक, व्यवस्थापकीय र प्रशासकीय चुनौतीहरू हुने बताएका छन्।
तालिबानले अमेरिकालाई सहयोग गर्ने कैयौँ अफगानप्रति प्रतिशोध साँध्न सक्ने ठानिएको छ।
नयाँ शरणार्थी कार्यक्रमले पहिले योग्य नहुने ठानिएका कैयौँ अफगानहरूलाई अमेरिकामा बसोबास गर्ने अवसर प्रदान गर्नेछ।
तर अमेरिकामा बसोबास गर्न चाहने त्यस्ता व्यक्तिहरूले आवेदन दिनुपूर्व अफगानिस्तान छाडिसक्नुपर्नेछ र प्रक्रिया पूरा गर्न एक वर्षदेखि चौध महिनासम्म लाग्नेछ।











