प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आर्जु राणाले एक प्रसंगमा भन्नुभएको थियो – कुनै दिन देउवाजी रिसाउनुभएन भने उहाँलाई के भयो भनेर चिन्ता लाग्छ । उहाँको यो भनाइले प्रष्ट पार्छ कि देउवा नरिसाएको दिनै हुँदैन । उहाँको रिस घरमा मात्र होइन, बेलाबेलामा पार्टी र सरकारको कामका सिलसिला देख्न सकिन्छ ।
उहाँको रिसको सामाना कतिमय मिडियाकर्मीले पनि गर्नुपरेको छ । कतिपय अन्तर्वार्तामै देउवाले रिस थाम्न नसकेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । शनिबार भने गठबन्धनकै नेताहरूले देउवाको रिसको सामना गर्नुपर्यो । प्रधानमन्त्रीमा नियुक्त भएको लामो समयसम्म पनि मन्त्रिमण्डल विस्तार गर्न नसकेपछि देउवा गठबन्धनका नेताहरूसँग रूष्ट बन्नुभएको छ। शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका शीर्ष नेताद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग छुट्टाछुट्टै भेट्नुभएका देउवाले २ दिनभित्र मन्त्रिमण्डललाई पूर्णता दिने वातावरण नबनाए आफैं राजीनामा दिने चेतावनी दिएको बालुवाटार स्रोतले बतायो । देउवालाई भेट्न बालुवाटार पुगेका प्रचण्डले वार्ताको सुरूमै देउवाको रिसको सामना गर्नुपर्यो । कुराकानीको सुरूवातमै देउवाले आइतबारसम्म मन्त्रीको लिष्ट नदिए आफैंले राजीनामा दिने चेतावनी समेत दिनुभयो । देउवा रिसाउन थालेपछि एकछिन प्रचण्डलाई फकाउन हम्बेहम्बे परेको बताइन्छ । उहाँले माधव नेपाललाई दोष थुपार्र्दै देउवालाई शान्त बनाउने प्रयास गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ । ‘माधवजीको समस्या तपाई हामीले नबुझे कसले बुझ्छ ? उहाँलाई पर्खिन खोज्दा ढिलाई भएको हो ।
मन्त्रीको नाम दिन मलाई कुनै समस्या छैन । कांग्रेस र माओवादीका मन्त्री मात्र समावेश गरेर मन्त्रिमण्डल विस्तार गर्दा राम्रो सन्देश जाँदैन’ प्रचण्डले देउवालाई भन्नुभयो । प्रचण्डले सोमबारसम्म जसरी पनि मन्त्रिमण्डललाई पूर्णता दिने प्रयास गरौं भनेपछि देउवा केही शान्त देखिनुभएको थियो ।
शनिबार साँझ नै देउवाले जसपाका शीर्ष नेताद्धय भट्टराई र यादवलाई बालुवाटार बोलाएर मन्त्री छान्न किन ढिला गरेको भन्दै जङ्गिनुभएको थियो । यादवले मन्त्री छान्न २/ ४ दिन लाग्नसक्ने बताएपछि देउवाको रिस पुनः थामिएन । ‘तपाईं नै बन्नुस् प्रधानमन्त्री, तपाईं नै चलाउनुस् सरकार’ भन्दै देउवा पुनः झोक्किनुभयो । लामो समयसम्म मन्त्रिमण्डल विस्तार हुन नसक्दा बाहिर राम्रो सन्देश नगएको भन्दै देउवाले मुन्टो बटारेपछि भट्टराईले अब ढिलो गर्न हुँदैन भन्दै प्रचण्डले सोमबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गर्न आग्रह गरेको सुनाउनुभयो । यादवले पनि अन्य दलले मन्त्रीको नाम टुङ्गो लगाए जसपाको कारण मन्त्रीमण्डल विस्तार नरोकिने बताउनुभयो।
देउवाले आइतबार साँझसम्म जसरी मनि मन्त्री बनाउनुपर्नेहरूको लिष्ट दिन भन्दै सोमबार जसरी पनि मन्त्रिमण्डललाई पूर्णता दिने बताउनुभएको थियो । दोधारका बीच सरकारमा सहभागी हुने तयारीमा नेपाल समूह पार्टी एकताको पहल भैरहेको भन्दै सरकारमा सहभागी हुन हिचकिचाएको माधव नेपाल समूह गठबन्धनका नेताहरूको लगातारको आग्रहपछि सरकारमा सहभागी हुने भएको छ । तर उसले पार्टी एकताको सम्भावनालाई पनि कायमै राख्दै गैह्रसांसद्लाई सरकारमा पठाउने भएको छ ।
आफ्ना पार्टी कमिटीमा नभएका तर शुभेक्षा राख्ने आफूनिकटका तीन स्वच्छ व्यक्तित्वलाई सरकारमा सिफारिस गर्ने तयारीमा नेपाल रहेका छन् । केही समयपछि विकसित घटनाक्रमलाई हेरेर थप निर्णय लिने नेता नेपालले बताउनुभएको एक स्रोतले जनाएको छ । पार्टी फुटे पनि त्यसको अपजस आफ्नो भागमा नपरोस् भन्नका लागि नेपालले यस्तो जुक्ति लगाएको बताइन्छ । नेपाल समूहले तत्काललाई ३ मन्त्रालय मात्र मागेकोले सोहीअनुसार मन्त्रालयको भागवण्डा मिलाइएको छ । जसअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्रालय र एक राज्यमन्त्री, माओवादी र जसपाले ६–६ मन्त्री र एक एक राज्यमन्त्री पाउने भएका छन् ।