सरकारले वितरण गर्न नसकेपछि ४० लाख डोज खोप भण्डारमै थन्कियो

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार अघिल्लो सरकारले जुटाइ दिएको खोपसमेत ब्यवस्थापन गर्न असफल बनेको छ । मुलुकमा कोरोना संक्रमण बढिरहेको बेला सरकारले अघिल्लो सरकारले नै जुटाइ दिएको खोपसमेत ब्यवस्थापन गर्न नसकी भण्डारण गरेर राखेको हो । एमाले अध्यक्ष केपी ओली नेतृत्वको अघिल्लो सरकारले चीन, जापान, अमेरिकालगायतका मुलुकबाट कोरोना खोपको जोहो गरेको थियो । ओली सरकारले जुटाएको सो खोपमध्ये ४० लाख डोज भण्डारण गरी देउवा सरकारले नागरिकलाई पीडा दिएको हो ।

नेपालमा कोरोना संक्रमण पुनः तिव्र रुपमा फैलिएसँगै कोरोना संक्रमणविरुद्धको खोप अत्यावश्यक देखिएको छ । तत्काल खोप व्यवस्थापन हुन नसके फैलिँदै गरेको तेस्रो लहर थाम्न नेपालमा मुस्किल नै देखिएको छ । हाल सबै पसल लगायत खुकुलो लकडाउनका कारण भिडभाड बढेकाले संक्रमणको ग्राफ ह्वात्तै उकालो लागिरहेको छ । एकातिर सरकारले भएकै खोप लगाउन सकेको छैन भने खोपकै लागि नागरिक घण्टौ लाइन बस्नुपर्ने अवस्था रहेको छ । खोप केन्द्र नबढाउँदा र आसेपासेलाई मात्रै खोप दिँइदा लाइन लागेकाहरुले खोप नलगाई रित्तो हात फर्किनुपरेको अवस्था छ ।

सरकारले भण्डार गरेर राखेको ४० लाख डोजको व्यवस्थापन नहुँदा यो समस्या देखिएको हो । तिव्र रुपमा पुनः फैलिएको कोभिड संक्रमणका कारण झापाका सबै बजार क्षेत्र बन्द गरिँदै छ । त्यस्तै काठमाडौं उपत्यकामासमेत संक्रमण तिव्र रुपमा फैलिएपछि पुनः लकडाउन वा स्मार्ट लकडाउन गर्ने भन्ने छलफल अघि बढेको छ । संक्रमण भयावह बने पनि सरकारले तोकेको लक्षित समूहले नै खोप पाउन नसक्दा समस्या बढेको छ । नागरिक खोपका लागि तडपीरहेका छन तर सरकार भने आएको खोपसमेत बितरण गर्न असफल देखिएको छ ।

सरकारी भण्डारणमा अहिले ९ लाख ७१ हजार डोज जोनसन खोप, चीनबाट ल्याइएको भेरोसेल खोपको २९ लाख ७० हजार डोज रहेको छ ।
सरकारले चुस्त वितरण प्रणाली बनाउन नसक्दा देशका ठूला शहरी क्षेत्रका केन्द्रमा थेगिनसक्नुको भिड एकातिर छ भने खोप केन्द्रले डोज नै सकिएको कारण देखाएर लक्षित समूहलाई बिनाखोप घर फर्काइरहेको छ ।