नेपाली कांग्रेसलाई बलियो बनाएर कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने अभियानको नेतृत्व गर्नुभएका ‘एमाले बरिष्ठ’ नेता माधवकुमार नेपालले अन्ततः पार्टी एकताको प्रयाश बिफल बनाइ दिनुभएको छ । नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग लिएको बैना र गरेको गोप्य सहमतिका कारण आफ्नै समुहका दोस्रो तहका अधिकांश नेताले अघि बढाएको एकता प्रयाश बिफल बनाउनु भएको हो ।
पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली एकताको लागि लचक भएर प्रस्तुत हुँदा नेपालले ओलीलाई अध्यक्ष नै नमान्ने, देउवा र प्रचण्ड नै मान्ने तर्क गर्दै नेपाल प्रतिक्रियावादी कित्तामा उभिएर बिवाद समाधानका लागि गठित कार्यदलको प्रतिवेदन नै नमान्ने घोषणा गर्नुभएको छ । पछिल्लो समय ओलीसँगै हारेको भए पनि दोस्रो अध्यक्षको अन्तरिम व्यवस्था गरेर भए पनि एमालेको एकता कायमै राख्ने दोस्रो तहका नेताहरूको प्रयास माधवकै कारण बिफल बनेको छ । एकता बचाउन अध्यक्ष ओली र माधवबीच वार्ता गराउन लागेका नेताहरु माधवको पछिल्लो अडानपछि निरास बनेका छन । विघटित कार्यदलका सदस्यहरूबीच शनिवार आज भएको छलफलमा माधवको बटमलाइनबारे ब्रिफिङ भएपछि अव उहाँसहितको एमाले एकताको सवै ढोका बन्द भएको छ ।
माधवलाई जति कुरे पनि प्रतिक्रियावादी कित्तामै रहने सूचना पाएपछि अध्यक्ष ओलीको निर्देशनमा महासचिव इश्वर पोखरेलले आज स्थायी कमिटी बैठक बोलाउनु भएको थियो । यद्यपी आजको बैठक केहीबेर बसेर एकताको अन्तिम प्रयाशका लागि आइतवारसम्म स्थगित गरिएको छ । माधव समुहका नेताहरुको आग्रहमा आजको बैठक एजेण्डामा प्रवेश नै नगरी आइतवारसम्मका लागि स्थगित भएको हो । बैठकमा बिघटित कार्यदलमा संस्थापनबाट संयोजक रहनुभएका संसदीय दलका उपनेता सुवास नेम्वाङले ब्रिफिङ गरेपछि आइतवारसम्म स्थगित गरिएको हो । तर जति पटक बैठक स्थगित भएपनि माधव एमालेमा नआउने लगभग पक्का भइसकेको छ । आजको बैठक अगावै कार्यदलका नेताहरुले माधवको सर्तमा केन्द्रित रहेर छलफल गर्नुभएको थियो । अन्तिममा माधव समुहका नेताहरुले माधव मनाउन अन्तिम प्रयाश गर्ने भन्दै आजको बैठक स्थगित गर्न सुझाएपछि आइतवारसम्म स्थगित भएको हो ।
एमालेले आइतवारसम्म माधव समुहलाई कुर्ने गरी बैठक सारे पनि माधव नआउने निश्चित जस्तै छ । कार्यदलका एक सदस्यले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार माधवले कार्यदलको सहमति र अध्यक्षमा ओलीलाई मान्दै नमान्ने बटमलाइन सुनाउनु भएको छ । कार्यदलका सदस्यहरुलाई माधवले दश बुँदे सहमति आफूले भने अनुसार नभएको भन्दै त्यसलाई नमान्ने घोषणा गर्नुभएको ती सदस्यले बताए ।
‘कार्यदलको सहमति म मान्दिन, यदि मिलाउने हो भने केपी ओलीले अध्यक्ष छाड्नुपर्छ,’ माधवको भनाई उधृत गर्दै अर्का सदस्यले भने । पछिल्लो पटक उपाध्यक्ष भीम रावलसँगको भेटमा ओलीले माधवको पदलोलुपता बुझेर नै दोस्रो अध्यक्ष दिन तयार भई चाँडो छिनोफानो गर्न आग्रह गर्नुभएको थियो ।
ओलीको प्रस्तावपछि उत्साहित हुनुभएका रावल माधवको ब्यववहारपछि निरास हुनुभएको स्रोतको भनाई छ । कार्यदलका एक सदस्यका अनुसार माधव ‘म ओली भन्दा तल बस्दै बन्दिन’ भन्दै एमालेमा नरहने निर्णय सुनाइ सक्नु भएको छ । ‘माधव कमरेडले म केपी ओली भन्दा तल बस्दिन, दोस्रो अध्यक्ष पनि खान्न, म एमालेमा आउदिनँ, दश बुँदे पनि मान्दिन भन्नुभयो,’ कार्यदलका अर्का सदस्यले भने । ती नेताका अनुसार माधव रावललगायत कार्यदलमा पठाइएका पाँच नेतासहित भीम आचार्यदेखि पनि माधव धेरै टाढा पुग्नुभएको छ । अव माधवको ध्यान देउवा सरकारमा सहभागी हुने र छुट्टै पार्टी गठन गरेर माओवादीमा बिलय भई दोस्रो अध्यक्ष लिने रहेको छ ।