जसपाका अध्यक्ष उपेन्द्र यादवले आफू पक्षीय सांसद एवं केन्द्रीय कार्यकारिणी परिषदका सदस्यहरुलाई गोदावरीको रिसोर्टमा राखेर निर्वाचन आयोगमा एकै साथ उपस्थित गराउने भएकाछन् ।
सोमबार निर्वाचन आयोगले कार्यकारिणी परिषदका बहुमत सदस्यको सनाखतबाट पार्टीको आधिकारिकताबारे निर्णय गर्ने भएपछि यादवले आफ्नो पक्षमा रहेका सदस्यहरुलाई एकीतृत गरेर राखेका हुन्।
आइतबार दिउँसोदेखि गोदावरी रिसोर्टमा भेला भएका कार्यकारिणी परिषदका सदस्य एवं सांसदलाई अध्यक्ष यादव र नेता बाबुराम भट्टराईले प्रशिक्षणसमेत दिएका छन्।
राति खाना, बस्ने र सोमबार बिहान ब्रेकफास्ट्को व्यवस्थासमेत त्यहीँ गरिएको व्यवस्थापनमा लागेका एक नेताले देश सञ्चारलाई जानकारी दिए। अध्यक्ष यादव र नेता भट्टराईले पनि आइतबारको रात सांसदहरुसँगै गोदावरी रिसोर्टमै बिताउनेछन्।
ती नेताले भने, ‘हामीहरु भोलि बिहान ब्रेकफाष्ट लिएर यहाँबाट सिधै निर्वाचन आयोग जान्छौँ। आयोग जानुअघि समूहबाट नछुट्टिन नेताहरुले निर्देशन दिनुभएको छ।’
५१ सदस्यीय कार्यकारिणी परिषदका ३४ जना सदस्य बेलुका ७ बजेसम्म रिसोर्टमा रहेको र संघीय संसदका २१ जना सांसद पनि त्यहाँ पुगेका छन्। धेरैजसो भने परिषद् र सांसद दुवै भूमिकामा रहेका छन्।
रिसोर्टमा राखेर बाहिर कतै निस्कन नदिएको समाचार विवरणहरु बाहिर आएका छन् । सोही रिसोर्टमा रहेका एक कार्यकारणी सदस्यले प्रदेशखबरलाई दिएको जानकारी अनुसार केही युवाहरु राखेर बाहिर निस्कन र परिवारका साथ घरमा बस्न जान्छु भन्दा पनि बाहिर निस्कन दिएका छैनन् ।
यसैबीच जसपाकै अर्को पक्षले आफ्ना सहकर्मीहरुलाई रिसोर्टमा बन्धक बनाएको आरोप लगाएको छ । त्यहाँ बोलाएर गएका थुप्रै साथीह्रुलाई सत्ताको आडमा बन्धक बनाइएको हो ।











