एमाले उपाध्यक्ष डा. भीम रावलले अब नेकपा एमालेभित्र कुनै पनि विवाद नरहेको घोषणा गर्नुभएको छ । सिंहदरबार स्थित संसदीय समितिको हलमा आज भएको सांसदहरुसँगको छलफलमा उपाध्यक्ष रावलले एमालेमा अव कुनै बिवाद नरहेको घोषणा गर्नुभएको हो । एमाले बिवाद समाधानको प्रयाश भइरहेको बेला आज सिंहदरवारमा एमालेको पूर्वकार्यदलका सदस्य र सांसदहरुको बैठकमा उपाध्यक्ष रावलले अव पनि बिवाद गर्ने भनेको आपत्तिजनक काम भएको बताउनुभयो ।
पार्टीमा वैचारिक, सैद्धान्तिक कुनै विवाद नरहेको उहाँको भनाई छ । कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट संयोजक रहनुभएका सुवास नेम्वाङसँगै माधव समुहका संयोजक रावलले कार्यदलको सहमतिअनुसार नै एमाले अगाडि बढने बताउनु भयो । रावलले पार्टीका दुई पक्षबीच विवाद मिलाउन भएको १० बुँदे सहमतिका लागि निकै मिहिनेत गर्नुपरेको तथ्य पनि सुनाउनुभयो ।
‘हामी सबैलाई थाहा छ २०७५ जेठ २ गते पूर्वको अवस्थामा जाने यो सम्झौतामा स्पष्ट रूपमा लेखिएको छ । साथसाथै फागुन २३ पछि कुनै पनि तर्फ भन्ने शब्द प्रयोग गरिएको छ, हामी सबैजना कानुनका ज्ञाता नै छौँ, कुनै पनि तर्फ भन्दा के अर्थ लाग्छ ? त्यहाँ हामीले बहस पनि गरेका थियौँ, दुई ठुला पार्टी एकता हुन लागेको अर्थ पनि आउने भयो नि कमरेड भन्ने कुरा पनि आयो । किन त्यस्तो शब्द प्रयोग गर्ने ?
त्यसकारण हामीले धेरै बिचार गरेर दुईतर्फ भन्ने शब्द त्यहाँ प्रयोग गरेका छौँ । तितो नलागोस्, पार्टी अध्यक्षले नेतृत्व गरेको ठाउँबाट होस वा वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेको ठाउँबाट होस्, हाम्रो विधानसँग नमिल्ने, हाम्रो एकतासँग नमिल्ने ती सबै कुराहरू बदर हुनेछन् भनेर त हामीले घोषणा गरिसकेका छौँ,’ उपाध्यक्ष रावलले भन्नुभयो, ‘यो भन्दा ठूलो एकताका लागि घोषणा अरू के हुन सक्दछ ? यो भन्दा फराकिलो कुरा अरू के हुन सक्दछ ?’
उहाँले चित्त नबुझ्दा नबुझ्दै पनि कोही दुई पाइला, कोही तीन पाइला हटेर सहमतिमा पुगेको रावलको भनाई छ । ‘अघि सुवास कमरेड (सुवास नेम्वाङ) ले भनेजस्तै हामीले पार्टी अध्यक्ष र वरिष्ठ नेता दुवैजनालाई यो सहमति गर्ने आरम्भ चरणदेखि अन्तिम बिन्दुसम्म सम्पूर्ण कुराको जानकारी गराएका छौँ । उहाँहरूलाई सो कुराको जानकारी गराउनुको साथ साथै सहमति गर्नुपूर्व अन्तिम बिन्दुमा जानकारी गराएका छौँ । केही बुँदाहरूमा यहाँ यस्तो भए हुन्थ्यो भन्ने भनाई अवश्य रहेका हुन् । मेरा पनि केही अडान छन्, सुवास कमरेडका पनि छन्, अरू कमरेडका पनि छन् । सबैको अडान कायम राखेको भए आज यसरी सहमति हुने थिएन,’ रावलले भन्नुभयो ।
उहाँले कतिपय विषयहरूमा चित्त नबुझ्दा नबुझ्दै पनि भोलिका आउने दिनेहरूलाई हेरेर सङ्गठनहरू क्रियाशील भएपछि कमी कमजोरीलाई हटाएर अघि बढ्न सकिने भएकोले समझदारी गरेको प्रष्ट पार्नुभयो । पार्टीको आगामी महाधिवेशनका लागि सदस्यता वितरण तथा पार्टीमा थप केन्द्रीय सदस्य थपका लागि पनि कार्यदलले काम गर्ने रावलले जानकारी दिनुभयो ।
‘यति धेरै सहमति भइसकेपछि अब हामीले के का लागि विवाद गर्ने ? के का लागि मतभेद गर्ने ? सिद्धान्तका लागि मतभेद गर्ने हो भने जनताको बहुदलीय जनवादका बारेमा कसैले प्रश्न उठाएको देखिँदैन । कार्यक्रममा विवाद छ भने समाजवाद प्राप्तिका लागि दलाल पुँजीपति वर्गविरुद्ध सङ्घर्ष गर्दै जाने भन्ने अठोटमा कसैले बहस गरेको देखिँदैन । नीतिको कुरा गर्ने हो भने हाम्रो स्वतन्त्र परराष्ट्र नीति, सामाजिक नीतिको बारेमा कुनै विवाद गरेको पाइँदैन । समावेशी लोकतन्त्र, समानता, न्यायका लागि लड्ने हाम्रो पार्टीको प्रश्न हो त्यसमा पनि प्रश्न छैन । केहीमा पनि प्रश्न छैन भने के भनेर लड्ने ?’ रावलले भन्नुभयो ।