माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका केही साथीहरु ढलेकाे भनि दिएकाे अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष भीम रावलले गम्भीर आपत्ति जनाएका छन्।
उनले प्रचण्डलाई एमाले विभाजन गर्न खाेजेकाे आराेप पनि लगाएका छन्। शनिबार बिहान प्रचण्डले गठबन्धनमा राम्राे भूमिका खेलेका नेताहरु पनि नपत्याउँदाे ढङ्गले ढलेकाे बताएका थिए।
भीम रावलको नाम नलिएर प्रचण्डले भनेका थिए, ‘यो गठबन्धन भत्काउन कसरत हुँदा केही साथीहरु नपत्याउँदो किसिमले ढल्दिनु भयो। राजीनामा प्रकरणले थाहा हुन्छ गठबन्धनमा राम्रो भूमिका खेलेका, बडो स्पीरिटका साथ काम गरेका साथीहरु पनि ढले। त्यतिकै ढलेका होइनन्, बडो गम्भीर ढंगले चीजहरु भएका छन्।’
प्रचण्डकाे यस्ताे अभिव्यक्तिपछि शनिबार साँझ विज्ञप्ति निकाल्दै रावलले आफू ढलेकाे नभइ एमाले ढाल्ने षडयन्त्रविरुद्ध उभिएकाे बताएका हुन्।
‘प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएर म ढलेकाे हैन नेकपा एमालेलाई ढाल्ने षड्यन्त्रविरुद्ध स्वस्थ राजनीतिक अभ्यासकाे पक्षमा उभिएकाे हुँ’,रावलले प्रचण्डलाई जवाफ फर्काएका छन्।
उनले गठबन्धन प्रतिनिधिसभा पुन:स्थापनाका लागि मात्रै बनेकाे र साेही क्रममा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सहमति भएकाे दाबी पनि गरेका छन्। गठबन्धनमा सबैको आ–आफ्नो स्वार्थ रहेकाे पनि रावलकाे दाबी छ।
देउवालाई प्रधानमन्त्री बन्ने, प्रचण्डलाई आफ्ना मान्छे मन्त्री बनाउने, उपेन्द्र यादवलाई महन्त ठाकुरसँगकाे संघर्षमा जित हाँसिल गर्ने र माधवकुमार नेपाललाई पार्टीमा स्वेच्छाचारी क्रियाकलापलाई पराजित गर्ने स्वार्थ बमाेजिम गठबन्धन बनेकाे पनि रावलकाे जिकिर छ।
‘काेही पनि आफ्नाे पार्टी फुटाएर अरु कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका हैनन्’, रावलले भनेका छन्, ‘साझा स्वार्थ मिल्दासम्म सहकार्य गर्ने मात्रै हाे।’
रावलले वक्तव्यमार्फत प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी लगायतका विषयमा कुरा गर्ने मौका समेत नदिएकाे आराेप लगाएका छन्।
उनले प्रचण्डलाई साेधेका छन्, ‘एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रधानमन्त्री देउवासँग कुरा गर्ने अवसर नदिइ राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु विधि र गठबन्धन संस्कृति हो?’
आफूले सांसद पदबाट दिएकाे राजीनामालाई पाँच दलकाे गठबन्धन फुटाउने खेल भन्ने प्रचण्डकाे तर्क हास्यास्पद र मनगढन्ते रहेकाे पनि रावलले बताएका छन्।
Dr. Bhim Rawal@BhimRawal179प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ, पुष्पकमल दाहाल’प्रचण्ड’जीले भन्नुभएझैं ‘ढलेको’ होइन।थप कुरा यस प्रकार छन्: