तालिबानले आफ्नो चाहना अफगानिस्तानको सत्तामा एकाधिकार नरहेको तर वर्तमान सरकार नहटेसम्म शान्ति कायम भने नहुने बताएको छ।
शान्ति स्थापनाका लागि नयाँ सरकार गठन हनु पर्ने र राष्ट्रपति अशरफ घानीले पद छोड्नु पर्ने तालिबानले माग गरेको हो।
समाचार संस्था एसोसिएटेड प्रेस (एपी) लाई लिएको अन्तर्वार्तामा तालिबानमा प्रवक्ता सुहेल शाहीनले अफगानिस्तानको भविष्यलाई लिएर तालिबानको अडान स्पष्ट पारेका हुन्।
तालिवानले विभिन्न देशसँग गरिरहेको वार्ताको प्रतिनिधिमण्डलका सदस्य समेत रहेका शाहीनले एपीसँग भने, ‘वार्ताको माध्यमबाट सबै पक्षलाई स्वीकार्य हुने सरकार बनेको र अशरफ घानीको सरकार हटेमा मात्रै तालिबानले हतियार बिसाउने छ।’
उनले भनेका छन्, ‘म यो कुरा स्पष्ट गर्न चाहन्छु कि तालिबान सत्तामा एकाधिकार चाहँदैन किनकी विगतमा जुनै पनि सरकारले सम्पूर्ण शक्ति आफ्नो हातमा लिने प्रयास गरे उनीहरु सबै असफल रहे।’
शाहीनले विगतमा तालिबान नेतृत्वको सरकारलाई पनि असफल भनेका हुन्। उनले स्पष्ट पार्दै भने, ‘हामी फेरि पनि त्यहि फर्मुला दोहोर्उाउन चाहँदैनौँ।’
तर राष्ट्रपति अशरफ घानीका सम्बन्धमा कुनै पनि सम्झौता नगर्ने तालिबानले स्पष्ट पारेको छ।