क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन भोलि नै तयार पार्ने छानविन समितिको योजना

कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन भोलि (आइतबार)सम्ममा तयार हुने छानविन समितिले जानकारी दिएको छ ।

क्रियाशील सदस्यतासम्बन्धी विवाद कायम रहँदा विभिन्न तहका अधिवेशनहरू प्रभावित हुने देखिएकाले छिटो काम सक्ने तयारीमा समिति जुटेको हो । कांग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता छानविन समिति गठन गरेको छ ।

समितिका प्रवक्ता प्रदीप पौडेलका अनुसार प्रतिवेदन तयार राखेर पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको समय लिने तयारी छ । ‘हामीले काम करिब सबै सकिसक्यौँ । त्यससम्बन्धी प्रतिवेदन बुझाउन सभापतिको समय मागेका छौँ,’ पौडेलले भने, ‘उहाँको समय पाउनासाथ प्रतिवेदन बुझाउँछौँ ।’

उनका अनुसार सप्तरी र बारामा समायोजन र नयाँ सदस्यताहरू स्थगित गरिएको छ । ‘हाम्रो तहबाट पुराना क्रियाशील सदस्यता पठाउने निर्णय भएको छ,’ पौडेलले भने, ‘सिन्धुपाल्चोक र रसुुवामा समायोजन र नयाँ सदस्यता हाम्रो तहबाट स्थगित गरेर नेतृत्व तह (पदाधिकारी र पूर्वपदाधिकारी)मा पठाउने निर्णय भएको छ ।’

यस्तै, धनुषा क्षेत्र नम्बर ४ र सर्लाही क्षेत्र नम्बर २ को क्रियाशील सदस्यता विवाद पनि नेतृत्व तहमा पु¥याउने निर्णय समितिले गरेको छ, दुवै ठाउँमा पुराना क्रियाशील सदस्यता कायम गर्ने निर्णय भएको छ ।

देशभरका ६ हजार सात सय ४३ वटा वडामध्ये करिब सय वटा वडाको क्रियाशील सदस्यता मात्र स्थगन भएको छ । शनिबार सम्पन्न कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी बैठकले १२ साउनमा हुने तय भएका वडा तहका अधिवेशन स्थगित गर्ने निर्णय लिएको छ । क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाउन समय मागेका कारण वडा अधिवेशन स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

१२ साउन बिहान नौ बजेसम्ममा समितिको प्रतिवेदन प्राप्त हुने समय निर्धारण गरिएको छ । र, त्यसपछि बस्ने केन्द्रीय समितिले उक्त प्रतिवेदन पारित गरेपछि वडा अधिवेशनको मिति तोक्ने तयारी छ ।

‘भोलिसम्ममा प्रतिवेदन नै तयार भएर सभापतिलाई बुझाउने तयारी अवस्थामा राख्नेछौँ,’ पौडेलले भने ।