सनातन धर्ममाथि योजनावद्ध रुपमा आक्रमण: अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्टबीच वैचारिक, चरित्रगत, नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताउँदै कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा मात्र हुनसक्ने बताएका छन्।

शनिबार काठमाडौँको क्षेत्र नं. ५ (क)ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले १४ वर्षअघि आमुल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमूलक ढंगले लादिएको बताए।

अध्यक्ष थापाले मुलुकमा व्याप्त विकृति, विसंगति र बेथितिको अन्त्य चाहने हो भने अब जनताको रोजाइ राप्रपा हुनुपर्ने बताएका छन्। अध्यक्ष थापाले धर्म निरपेक्षताको आडमा संगठित र योजनावद्ध रुपमा सनातन धर्ममाथि आक्रमण भइरहेको बताउँदै प्रमुख नेताहरुको अकर्मण्यताले विदेशी चलखेल बढेको समेत बताएका छन्।

नेपालीको पहिचान, राष्ट्रिय एकताको आधार, समाज, राष्ट्र र परिवार संचालन गर्ने आधारलाई नष्ट गरेर विदेशी संस्कृति र धर्म लाद्ने काम भएको अध्यक्ष थापाले आरोप लगाए।

पार्टीको महाधिवेशन र स्थानीय तहको निर्वाचनको तयारी तीब्र पार्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै थापाले संगठन सुदृढीकरण, सक्रिय सदस्यता वितरण अभियान र जनताको सुखदुःखमा उच्च प्राथमिकता साथ काम गर्न आग्रह गरे।

कांग्रेस र कम्युनिष्टको असफलता, भ्रस्टाचार र कुशासनको भण्डाफोर गर्दै देशव्यापी आन्दोलनमा जानुपर्ने आवश्यकता औंल्याउँदै थापाले जनताले विकल्प खोजेका र अबको विकल्प राप्रपा बनाउनको निमित्त सक्रियतापूर्वक काम गर्न जोड दिए।