पार्टी अध्यक्ष ओली र उनी पक्षधरले तर्साउन खोजेपनि आफ्नो समूह नतर्सिने नेता नेपालको भनाई

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधरले तर्साउन खोजेर आफू र आफ्नो समूहलाई नतर्सिने बताएका छन्।

उनले आफूहरु विशेष धातुले बनेको र ओलीले तर्साउँदैमा नतर्सने दाबी गरे। ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा ललितपुरको च्यासलमा शुक्रबार आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो बिषयक प्रवचन कार्यक्रममा उनले ओली सुध्रिएलान् भनेर आश गरेको भएपनि त्यसो नभएको बताए।

उनले भने, ‘म त ओली सुध्रिन्छन् होला भनेको थिएँ। त्यही भएर म केही नबोलेर हिँडिरहेको थिए। हिजो चम्पादेवीमा त्यसै गरे। ख्याल गरेर बोलिरहेँ। साथीहरुले पनि त्यही सुझाएका थिए। भक्तपुरमा पनि त्यही गरेँ। बाँदर जुलुस ननिकाल्नू भनेँ। तर उल्टो भयो।’

नेपालले ओलीलाई श्री पाँच महाराधिराज सरकारको संज्ञा दिए। उनले ओलीलाई लक्षित गर्दै भने, ‘श्री पाँच महाराधिराज सरकारले आफूहरुलाई ‘आममाफी’ दिने रे। ’

‘आफूहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गल्ती भयो भनेर ओलीले भनेको भए उनको ‘हाइट’ घट्थ्यो?’ नेपालले प्रश्न गरे।