कोरोना भाइरसका संक्रमितहरुको संख्या एकाएक प्रदेश एकको उदयपुर जिल्लामा बढ्दै गएको छ। गत शुक्रबार र मंगलबार उक्त जिल्लाबाट २४ जना संक्रमित फेला परेका छन्।
गत शुक्रबार ११ जना संक्रमितलाई उदयपुर ३ स्थित भुल्केको एक मस्जिदमा फेला पारेपछि सशंकित बनेको सरकारले सो क्षेत्रलाई नै कडा सुरक्षाबीच राखेको छ। कोभिड १९ का कुल ४२ जना संक्रमित फेला परेसँगै हाल ४ जना बिरामी उपचारपछि घर फर्किएको अवस्थामा ३८ संक्रमित उपचारका लागि अस्पताल भर्नामा छन्। समुदायमा कोरोना भाइरसको संक्रमण देखिएसँगै मंगलबारदेखि नेपालमा कोरोना भाइरस संक्रमण तेस्रो स्टेजमा प्रवेश गरेको छ।
विदेशबाट आएकाहरुमा कोरोना भाइरसको संक्रमण भए पहिलो चरण मानिन्छ भने उनीहरुले परिवार र छरछिमेकमा संक्रमण फैल्याए दोस्रो चरण मानिन्छ। धनगढीका एक युवकले आफ्नो परिवारको सदस्यमा संक्रमण फैलाएपछि नेपालमा कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेको थियो। संक्रमितहरुले समुदायमा संक्रमण फैल्याए भने यसलाई तेस्रो चरणको अवस्था मानिन्छ।
मंगलबार पोजेटिभ नतिजा आएकाहरु १८ वर्ष उमेरदेखि ५८ वर्षसम्मका छन्। दुईजना महिलासमेत छन्। एक साताभित्र एकै क्षेत्रबाट कोभिड १९ का ठूलो संख्यामा संक्रमित फेला परेपछि प्रदेश एक सरकारले सो क्षेत्रमा सुरक्षा अवस्था कडा बनाएको जनाएको छ।