नेकपा एमालेको कार्यदल सदस्यहरू बिहीबार नै एकता प्रक्रिया टुंगो लगाउने भन्दै दिनभर नै दौडधुपमा रहे । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबाट संयुक्त रूपमा एकताको सन्देश दिने तयारी कार्यदलको थियो।
त्यहीअनुरुप गृहकार्यमा दुवै पक्ष जुटे । कार्यदल सदस्यबीच बिहान आधा घण्टामा कार्यदलको बैठक स्थगन गरी बेलुका ७ बजे बसेर टुंग्याउने सहमति पनि भयो । सहमतिको खाका तयार भयो। कार्यदलका सबै सदस्य पनि सहमत भए। योसँगै नेपाल पक्षका नेता एकता निष्कर्षमा पुग्ने विषयमा अझ उत्साहित भए। एमाले सचिवसमेत रहनुभएका माधव समुहबाट कार्यदल सदस्य गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे एकता निश्कर्षमा पुगेको भन्दै अभिव्यक्ति दिनुभयो । कार्यदल संयोजक भीम रावल पनि छिट्टै टुंगोमा पुग्नेमा विश्वस्त देखिनुभयो। संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङ पनि निकै उत्साहित बन्नुभयो । उहाँले बिहीबारै निष्कर्ष पुग्ने घोषणा गर्नुभयो ।
कार्यदलले चार दिनदेखि दिनहुँ बैठक बसेर एकताको प्रयास गरिरहेको थियो। तर, बिहीबार बेलुका एकता घोषणा हुने भन्ने विषय एकाएक स्थगन भएको छ। शक्ति बाँडफाँट र माधवको पूरा हुनै नसक्ने सर्तले एकताको घोषणा रोकियो । कार्यदल सदस्यहरु निरास बने । भेटवार्तामा नेपालले ओलीसमक्ष आगामी दिनमा हुने हरेक निर्णय दुई नेताबीचको सहमतिमा हुनुपर्ने, पार्टीमा महत्वपूर्ण जिम्मेवारी आफूलाई दिनुपर्नेलगायत विषयमा ठोस सहमति हुनुपर्ने प्रस्तावले एकताको काममा अवरोध आयो ।
कार्यदल तहमा सबै तहका पार्टी र जनसंगठनका कमिटीहरू सम्पूर्ण हिसाबले पूर्ववत् अवस्था (०७५ जेठ २) मा फर्काएर क्रियाशील रहने भन्ने विषयमा सहमति भइसकेको छ। एमाले र माओवादी केन्द्रबीच एकताका समयमा थपिएका ३८ जना र माओवादी केन्द्रबाट आएका रामबहादुर थापासहित २३ जना व्यवस्थापनका विषयमा भाषा मिलाउनेबाहेक सहमति भइसकेको छ।
संस्थापन पक्षका कार्यदल संयोजक नेम्बाङले आफूलाई शक्ति बाँडफाँटको विषय थाहा नभएको बताए। ‘कार्यदलमा त्यो विषय नै आएको छैन, यो अनावश्यक हल्ला मात्रै हो’, उहाँले भन्नुभयो । बैठकपछि कार्यदल सदस्य एवं एमाले उपमहासचिव घनश्याम भुसालले १० दिन यता खासै प्रगति नभएको बताइदिएर एकता आशामा रहेका कार्यकर्तालाई निराश बनाइदिनुभयो । यद्यपी कार्यदलले आज अन्तिम प्रयाश गर्दैछ । आज बिहान साढे ११ बजे कार्यदल बैठक बस्दैछ ।