एमाले अध्यक्ष केपी शर्मा ओलीले हदैसम्मको लचकता देखाउँदा पनि बरिष्ठ नेता माधवकुमार नेपालको हर्कत नसच्चिएपछि कठोर निर्णय लिनुभएको छ । बरिष्ठ नेता नेपालले आफू निकट निवर्तमान सांसद भेला गरेर एकताका लागि प्रयाशरत कार्यदलका सदस्यहरुमाथि नै आरोप लगाई एमालेमा कुनै हालतमा नफर्कने घोषणा गरेको सूचना पाएपछि अध्यक्ष ओलीले कठोर निर्णय सुनाउनु भएको हो।
आज बसेको केन्द्रीय कमिटी बैठकमै अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनका सन्दर्भमा फैसला आउँदासम्म शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर राखिरहनेहरु एमाले नरहने भन्दै कठोर निर्णय सुनाउनु भएको हो । बरिष्ठ नेता नेपालले हस्ताक्षर फिर्ता र ओलीसँग मिल्ने कुरा आफ्नै मृत्यूपत्रमा हस्ताक्षर गरेसरह हुने बताइसक्नु भएको छ ।
केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले माधव नेपाललाई प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्नेको हैसियत के हुन्छ ? भनेर प्रष्ट बताइसकेको र यो कुरा नलुकेको प्रष्ट पार्नुभयो ।
‘सर्वाेच्च अदालतबाट फैसला हुँदासम्म जो जसको हस्ताक्षर रहन्छ, ती एमालेका नेता–कार्यकर्ता होइनन,’ बैठकमा आफ्नो निर्णय सुनाउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘ जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो । जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन । यात्रामा अगाडि पनि साथी भेटिन्छन् ।’ अध्यक्ष ओलीको यो घोषणासँगै माधव नेपाल एमालेमा नफर्कने सूचना प्रष्टसँग पाइसकेको संकेत गरेको छ ।











