सत्तारुढ एमालेको माधव समुहका दुई नेतासहित आठ जना स्थायी कमिटीमा मनोनीत

सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीमा माधव नेपाल समुहका दुई नेतासहित आठ जना नेता थपिएका छन् ।

माओवादी केन्द्रबाट एमालेमा समाहित भएका चार जना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा मनोनित चार जना नेताहरुलाई एमालेले स्थायी कमिटीमा थप गर्ने निर्णय लिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । भंग हुनुअघि आज बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकबाट रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटी सदस्यमा थप गरिएको हो ।

बादल, भट्ट, थापा र रायमाझी पूर्वमाओवादीका तर्फबाट नेकपामा स्थायी कमिटी सदस्य हुनुहुन्थ्यो भने महासेठ, पन्त, रिमाल र भुसाल भने माओवादीसँग एकता भएपछि स्थायी कमिटी सदस्य मनोनित हुनु भएको थियो । एमालेले नेकपामा स्थायी कमिटी रहेका सवै जनलाई पुनः स्थायी कमिटीमा ल्याएको हो ।