कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइनसकेको र जोखिम उच्च रहेको विज्ञले बताए पनि अमेरिकाका केही राज्यमा लकडाउन खुकुलो पारी बजारहरु खोल्ने थालिएको छ । अमेरिकको दक्षिणका राज्यहरुमा डिपार्टमेन्ट स्टोर, खुला बजार तथा खुद्रा पलसहरु सोमबारदेखि खुल्न थालेका छन् ।

साउदी क्यारोलाइनाका गभर्नर हेनरी म्याकमास्टरले सोमबार अपराहन्न लकडाउन केही खुकुलो पार्ने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै बजारहरु खुलेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तै जर्जियाले पनि लकडाउन केही खुकुलो बनाउने तयारी गरेको छ । आउँदो शुक्रबारदेखि जर्जिया राज्यका बासिन्दा जिममा जान पाउने छन् । कपाल तथा नङ्गका सैलुन, मसास तथा ट्याटु सेन्टरहरु पनि खुला हुने छन् । यस्तै आउँदो सोमबारदेखि राज्यका रेस्टुरेन्ट तथा सिनेमा हलहरु पनि सञ्चालनमा आउने छन् ।
यसैगरी टेनिसीमा पनि अप्रिल ३० देखि लकडाउन सकिने र अधिकांश क्षेत्र खुला हुने जनाइएको छ । तीन राज्यका रिपब्लिकन गर्भनरले लकडाउन खुकुलो पार्दा संक्रमण फैलिएको अभियोग लागेको छ ।
तर उनीहरुको गतिविधिले अरु राज्यका गभर्नरमा पनि दबाब बढ्दै गएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार लकडाउन खुलाउनु पर्ने पक्षमा बोल्दै आएका छन् ।
स्वास्थ्य विज्ञहरुले भने अहिले नै लकडाउन खुकुलो बनाउने अवस्था नआएको र यसो गरिएमा संक्रमण फैलिन सक्ने चेतावनी दिँदै आएका छन् । लकडाउन खुकुलो पार्नका लागि परीक्षणदर बढाउनु पर्ने उनीहरुको भनाई छ ।
अहिले अमेरिकामा दैनिक डेढ लाख मानिसमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन परीक्षण हुने गरेको छ । त्यसमध्ये लगभग २० प्रतिशतको रिपोर्ट पोजेटिभ आउने गरेको छ ।
तर विज्ञले भने लकडाउन खुलाउनका लागि दैनिक पाँच लाख ८० हजार भन्दा बढीको परीक्षण हुनु पर्ने र संक्रमणदर १२ प्रतिशत भन्दा तल आउनु पर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले भने पर्याप्त मात्रामा परीक्षण भइरहेको दाबी गर्दै आएका छन् ।
न्यूयोर्कमा मृत्युदर घट्दै
कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित अमेरिकी प्रान्त न्यूयोर्कमा दुई साता यता दैनिक मृत्यु दरमा पहिलो पटक कमी आएको देखिएको छ ।
अमेरिकाका अन्य प्रभावित प्रान्त न्यूजर्सी र कनेक्टीकटमा पनि दैनिक मृत्यु दरमा कमी आएको पाइएको छ ।
दैनिक मृत्यु दरमा कमी आए पछि न्यूयोर्कका गर्भनर एन्डरू एम कुमो राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मंगलबार भेटवार्ता गर्ने भएका छन् । भाइरस परीक्षण र भाइरससँग लड्न चाहिने क्षमताहरूको विषयमा कुमोले ट्रम्पसँगको भेटमा छलफल गर्ने भएका हुन् ।
अप्रिल २ यता न्यूयोर्कमा कोरोनाभाइरसबाट दैनिक मर्नेको संख्यामा कमी आइ ५सय मुनि पुगेको हो । सोमाबार यो संख्या ४७८ रहेको देखियो । अप्रिल २ यता दैनिक मर्नेहरूको संख्यामा यो दैनिक मृत्यु सबै भन्दा कम हो ।
केही दिन यता कुमो न्यूयोर्कमा कोरोनाभाइरसको असर आफ्नो शीर्षमा पुगिरहेको र विस्तार घटदै जाने विश्वास गरेका थिए । भाइरस संक्रमितहरूको संख्यामा पनि कमी आउन अझ केही साता लाग्ने देखिएको छ ।

डेली मेलले समाचार लेखेको छ ।