निर्वाचनका बेला गरेका सत प्रतिशत प्रतिवद्धताहरु पुरा भएकाछन्

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आउँदो असार १० गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । एक कार्यक्रमका बीच गाउँसभामा गोलन्जोरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सम्पूर्ण तयारी पुरा भइसकेको गाउँपालिका अध्यक्ष पुष्प कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी असार १५ गते बजेट सार्वजनिक गर्ने कार्यक्रम तय भइसकेको छ ।
गाउँपालिकाले सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको छ । आर्थिक वर्ष २०७८÷०७९ का लागि गाउँपालिकाले शसर्तसहित ४० करोड भन्दा बढी रुपैयाँको बजेट बिनियोजनगर्दै सार्वजनिक गर्ने तयारी गरेको हो ।
नीति तथा कार्यक्रम र बिनियोजित बजेटवारे प्रतिक्रिया दिंदै गाउँपालिका अध्यक्ष कार्कीले जनताको मन छुने कार्यक्रमको तयारी गरिसकिएको बताउनुभयो । उहाँले भन्नुभयोः हामी जनताका प्रतिनिधी भएकाले स्थानीय आवश्यक्ताका आधारमा योजना छनोट गरिसकिएको छ र त्यस्ता योजनाले अपनत्व पनि पाउनेछन् ।
चार वर्षको अवधीमा तपाईले जनताका बीचमा गर्नुभएको प्रतिवद्धता कति पुरा भए ? भन्ने प्रश्नमा अध्यक्ष कार्कीले भन्नुभयोः निर्वाचनका बेला जनताका बीचमा जाँदा मसँग २ वटा कुराहरु थिए । एकातिर नेपाली कांग्रेसको चुनावी घोषणापत्र थियो भने अर्कातिर स्थानीय स्तरमा मैंले आफैंले गरेका प्रतिवद्धताहरु थिए । चार वर्षको अवधिमा मैंले गरेका सत प्रतिशत प्रतिवद्धताहरु पुरा भएकाछन् । -अशोक ठकुरीबाट