सिन्धुलीबाट सिकौंः भारतीय तरकारीको बिक्री वितरण देशैभर रोकौं

सिन्धुली सदरमुकाममा मध्यराती ल्याइएको भारतीय तरकारीहरु कमलामाई नगरपालिकाको अगुवाईमा नियन्त्रण लिएपछि नष्टगर्न लैजाँदै सशस्त्र प्रहरी । फोटोः प्रदेशखवर

सिन्धुलीको कमलामाई नगरपालिकाले देशमैं पहिलो पटक भारतीय खाद्यान्न, तरकारी तथा फलफुलमाथिको आयातलाई पूर्ण रोक लगाएको एक साता पुरा नहुँदै सिन्धुलीका एक व्यवासयीले स्थानीय प्रशासनले लगाएको आयात र निर्यातको निर्णयलाई धोली लगाईदिए ।
रातमाटाका तरकारी व्यवसायीले सर्वदलीय निर्णय र स्थानीय प्रशासनको आदेशका विपरित शनिवार र आइतवार २ गाडी तरकारी ल्याएर कमलामाई नगरपालिका क्षेत्रमा रहेका व्यापारीलाई खसालेर गएपछि सदरमुकामका झण्डै १० प्रतिशत नागरिकले ताजा तथा हरिया देखिने भारतीय बजारबाट आएका तरकारीहरु आफ्नो भान्सामा प्रवेश गराए ।
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले विहान ७ बजे भारतीय बजारबाट ठूलो परिमाणमा तरकारीहरु पसलहरुमा बिक्री भएको सूचना पाएका थिए, त्यस बेलासम्म कृषि उपज वजारका तीनवटा पसलबाट थुप्रै तरकारीहरु बिक्रि भइसकेका थिए । विहान ६ बजेदेखी ९ बजेसम्म खुल्ने तरकारी वजारमा बिहानै मानिसहरु पुग्ने गरेका छन् । सूचना थाहा पाउने वित्तिकै प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षकलाई जानकारी दिनासाथ नगरप्रहरीको सहयोगमा उनले तरकारी बजारमा बिक्रीका लागि राखिएका भारतीय तरकारीहरु, हरियो साग, मुला, गाँजर, हरियो खुर्सानी, हरियो केराउ, काँक्रो, फर्सी, हरियो लसुन, प्याज, टमाटर उठाउन लगाए । त्यस बेला प्रमुख जिल्ला अधिकारी र एसपी आइपुगेका थिए । भारतीय तरकारी बजारका कुन कुन ठाउँमा झारिएका छन् भन्ने जानकारी लिएर उनले सबैतिरबाट कृषिनगरप्रहरी र सशस्त्र प्रहरीको सहयोगले उठाएर गाठीमा राख्न लगाए । बजारबाट भारतीय तरकारीहरु उठाएको कुरा बजारभरी फैलिसकेको थियो । यसरी उठाएको तरकारी फालेका ठाउँबाट व्यापारी र स्थानीयले नलैजाउन भनेर नगरप्रमुख खत्रीले ल्याण्डफिल साइटको खाल्डोमा फाल्न लगाएका थिए । शनिवार र आइतवार बिहान भारतीय तरकारी लिएर आएको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको स्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार भारतीय तरकारी ल्याएर जनस्वास्थ्यमाथि खेलवाड गर्ने व्यापारीलाई कारबाही गरिने र त्यसै नछोडिने बताएको छ ।
नगरपालिकाको कदमको सर्बत्र स्वागत
रामेछाप लैजाने भन्दै इन्ट्रि गराएर व्यापारी दिपक थापाले सिन्धुली बजारमा उक्त तरकारीहरु बिक्रीका लागि ल्याएकोमा कमलामाई नगरपालिकाले नियन्त्रणमा लिएर नष्ट गरेकोमा किसानहरु पनि खुशी भएका छन् ।
अखिल नेपाल किसान महासंघ सिन्धुलीका अध्यक्ष बद्रीवहादुर दाहालले संक्षिप्त प्रतिक्रिया दिंदै कोरोना संक्रमणका बेला सिन्धुली जिल्लालाई संक्रमण मुक्त गराउन स्थानीय प्रशासन र कमलामाई नगरपालिकाले भारतीय तरकारी आयातमा लगाएको प्रतिबन्ध अत्यन्त राम्रो कदम भएको बताएका छन् । उनले स्थानीय सरकारको निर्देशन उलंघनगर्दै ल्याइएका भारतीय तरकारी नगरपालिकाले नियन्त्रणमा लिएर नष्ट गर्नु उदाहरणीय काम भएको टिप्पणी गरेका छन् । अध्यक्ष दाहालले सिन्धुली जिल्लाका कृषि उत्पादन र बजारीकरणका लागि भारतीय उत्पादन सदाका लागि बन्द गर्न आवश्यक रहेको बताए ।

नेपाल किसान संघ सिन्धुलीका अध्यक्ष पुष्कर बरालले जिल्लाका किसानहरुले सिन्धुली जिल्लालाई पुग्नेगरी हरिया सागपात तथा अन्य तरकारीको व्यवसायिक उत्पादन थालिसकेका अबस्थामा भारतीय तरकारीलाई सँधैका लागि रोक्नु पर्ने बताए । भारतीय तरकारीका कारण सिन्धुलीका किसानहरु पिडित बन्दै आएको अबस्थामा स्थानीय प्रशासनले चालेको कदम स्वागत योग्य रहेको उनको भनाई थियो ।
कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष नरेश देवकोटाका अनुसार तीन दिन भारतीय तरकारी सिन्धुली बजारमा आउन नपाउँदा किसानका खेतवारीमा लगाइएका तरकारीहरुले बजार पाएको छ । व्यवसायिक रुपमा तरकारी उत्पादन गर्ने किसानहरुको घरमै पुगेर कमलामाई नगरपालिकाले बजारसम्म ल्याइदिने काम गरेकाले अहिले सिन्धुली जिल्लामा बाहिरबाट तरकारी मात्रे नभएर अन्य कृषि जन्य बस्तु आवश्यक नभएको उनको भनाई थियो ।
स्थानीय प्रशासन र नगरपालिकाले भारतीय तरकारीहरु रोकेर सिन्धुलीका किसानहरुको मनोबल बढाउने काम गरेको छ, यसलाई निरन्तरता दिनुपर्छ, अध्यक्ष देवकोटाको भनाई थियो ।
अखिल नेपाल किसान महासंघ तीनपाटन गाउपालिकाका संयोजक खेमराज दाहालले लकडाउनका कारण गाउँपालिकाका किसानहरु पिडित बन्नु परेको र उनीहरुका लागि राज्यले सहयोग उपलव्ध गराउनु पर्ने अबस्था आइपुगेको बताए । उनले किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म लैजान नपाएर नष्ट भएको उल्लेखगर्दे संयोजक दाहालले कमलामाई नगरपालिकाले भारतीय तरकारी जफत गरेर नष्ट गरेको उदाहरणीय कामलाई देशका अन्य स्थानीय निकायले पनि अनुशरण गर्न ढिला भइसकेको जनाए ।
हाम्रा किसानलाई व्यवसायिक बनाऔैं र सँधैका लागि सिन्धुली जिल्लालाई भारतीय तरकारी निषेध जिल्लाका रुपमा स्थापित गराउन स्थानीय प्रशासन र नेकपाका नेताहरुलाई संयोजक दाहालले सुझाएका छन् ।
सामाजिक सञ्जालमा कारबाहीको माग !

भारतीय तरकारी तथा फलफुलबाट कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले जिल्ला प्रवेशमा रोक लगाएका बेला जिल्ला सदरमुकाममा भारतीय तरकारी बिक्रीका लागि ल्याउने व्यक्तिलाई कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले माग गरेका छन् ।
कानून व्यवसायी एवम् अधिवक्ता जयकुमार सापकोटा समाचार पढेपछि फेसवुकमा लेख्छन्ः मुस्लिम जमातीहरुले थुकेर पठाएकाछन्, होस गरौं, विपी राजमार्गबाट त पक्कै आएन होला, बैकल्पिक बाटोमा पनि निगरानी राखौं ।
त्यसैगरी शिक्षक अरुणकुमार थिङ्ग आक्रोस् पोख्दै लेख्छन्ः जिल्ला प्रशासनले तोकेको भन्दा बाहेकका सवारी साधानलाई रोक लगाउनु पर्छ भन्दा विरोध गर्ने मित्रहरुले देख्नु भयो त होलानी ? बाँकी उहाँहरुकै मर्जी, संझाउने भन्दा उक्साउने भढी भए ।
नेपाल पत्रकार महासंघका पूर्व सभापति सञ्जय दाहाल सिन्धुलीमा भारतीय तरकारी आएको बारे समाचार पढेर आश्यर्च मान्दै फेसबुकमा लेख्छन्ः हो र ? अटेरी गर्नेलाई कारबाही होस् ।
त्यस्तै शिक्षिका लिला ढकाल समाचार पढेपछि लेख्छिन्, कसरी आइपुग्छ, सिमा सिल गरेको भए । नोटमा त कोरोना संक्रमण छ भन्छन् तरकारीमा त के नहोला र ?
समाजवादी पार्टीका कार्यकर्ता अम्मर न्यौपाने समाचार पढिसकेपछि आफ्नो प्रतिक्रिया दिंदै लेख्नछन्ः स्थानीय सरकार र प्रशासनबाट कडा भन्दा कडा निगरानी गरियोस् ।
अर्का शिक्षक सुमन कोइराला लेख्नछन्ः कोरोना अव खाद्यान्न, इन्धन बोक्ने गाडीमा, एम्वुलेन्समा, प्रहरी, सरकारी र अनाधिकृत रुपमा शक्तिको भरमा बाँडिएका पासवाला गाडीमा चढेर आउने छ । (साभारः कमलामाई फिचर सेवा)