कोरोना संक्रमण र स्थानीय प्रशासनको निषेधाज्ञाको कुनै पर्वाह नगरी सिन्धुलीको कमलामाई नगरपालिकाका कर्मचारीले कार्यस्थलमैं पुगेर मजदुरको स्वास्थ्य बिमा गरिदिएका छन् ।
नगरपालिकाको सामाजिक विकास शाखाका कर्मचारीले बिहिवार मध्यान्ह कमलामाई नगरपालिका वडानंं. ३ को सिन्धुलीगढी क्षेत्रमा काम गरिरहेका मजदुरलाई कार्यस्थलमैं पुगेर १ लाख ४० हजार रुपैयाँको स्वास्थ्य बिमा गरिदिएको शाखा प्रमुख सत्यदेवी अधिकारीले जानकारी दिइन् ।

उनले गरिखाने श्रमिक वर्गको जीवन रक्षाका लागि कोरोना महामारीकै बीचमा उनीहरुको स्वास्थ्य बिमा गरिएको बताइन् ।
वडा कार्यालयबाट शिफारिश भई आएका मध्ये प्रकाशकुमार आले, रुद्रवहादुर मगर, विष्णुवहादुर मगर, मुहुने सार्की र महिन्द्रवहादुर सार्कीलाई परिवार संख्यामा आधारमा १ लाख २० हजार देखी १ लाख ४० हजारसम्मको स्वास्थय बिमा गरिएको थियो ।

कमलामाई नगरपालिकाले गत वर्ष झैं यस वर्ष पनि श्रमिक, गरिव तथा असहाय, एवम् द्धन्द्धपिडितहरुको जीवन रक्षाका लागि स्वास्थ्य विमा गराउँदै आएको छ ।











