बेथानचोकमा भेटिएको दुर्लभ सेतो मृग चिडियाखाना पठाइयो

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका -२ ढुंखर्कको जंगल स्थित दुर्लभ सेतो मृग फेला परेको छ ।

निख्खर सेतो रंगको मृग माउले छाडेर अलपत्र परेको अवस्थामा स्थानीय धिरज घिमिरेले भेटेका थिए । आइतबार  घिमिरेले सेतो मृग च्याम्राङबेशी ढुंखर्क प्रहरी चौकीका प्रमुख हरेराम पराजुलीलाई हस्तान्तरण गरे । सेतो मृग नेपालमा विरलै पाइन्छ ।

बेथानचोक गाउँपालिका र वडा कार्यालयको समन्वयमा ढुंखर्क प्रहरी चौकी प्रमुख पराजुलीले आज सव डिभिजन कार्यालय खोपासीका सहायक वन अधिकृत हेम बहादुर थापालाई हस्तान्तरण गरी जाउलाखेलस्थित सदर चिडियाखानामा पठाइएको छ। बेथानचोक गाउपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र भण्डारी वडा नम्बर २ का अध्यक्ष भगवान घिमिरेलगायतको उपस्थितिमा मृग हस्तान्तरण गरिएको थियो ।