‘म आफैं कोरोना पोजेटिभ भएकाले तपाईको पिडामा अभिभावकत्व प्रदान गर्न सकिनँ, त्यसका निम्ती म अत्यन्त दुःखीछु’

कोरोना संक्रमणको पहिलो लहरमैं म संक्रिमित भएँ । त्यस बेला भोगेको पिडा त म अहिले पनि संझान सक्तिनँ । नेपालमा फेरी कोरोनाको दोस्रो भेरियण्टको लहर आउँदैछ भनेपछि म निकै सर्तक र सचेत भएर जनताका कामहरु निरन्तर गरिरहें । विश्व स्वास्थ्य संगठनले भनेका स्वास्थ्यका न्यूनमत मापदण्डहरु पालना गर्नु मेरो दैनिकिनैं बनिसकेको थियो ।
यतिधेरै सर्तकता अपनाउँदा अपनाउँदै पनि फेरी पनि मलाई कोरोनाको लक्षण देखियो । पहिलो पटक एन्टीजेन विधीबाट परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपनि मलाई भने सो रिपोर्ट प्रति पटक्कै विश्वास लागेन । आफ्नो घर परिवार, साथीभाई र आम जनताबाट टाढिएर अलग्गै बसें । किनभने म जत्तिको सचेत व्यक्तिबाट अन्य मानिसमा सर्नु हुँदैन भनेर सबैलाई सचेत पनि गराएँ । त्यही क्रममा पिसिआर दिइयो । त्यस पटकभने मेरो आशंका सही सावित भयो । रिपोर्ट पोजेटिभ आएपछि भने म पनि झस्किएँ ।
मैंले कोभिड विरुद्धको २ वटै डोज (खोप) लगाईसकेकाले पनि ‘मलाई केही हुन्न’ भन्ने कुरा त मनमा छँदै थियो । आत्मवल पनि बलियोनैं बनाएको थिएँ । र म भन्दा धेरै मेरो घर परिवारका सदस्यहरु त्रसित देखिन्थे । मेरो अगाडि उनीहरुको मनोबल बलियो बनाए जसरी कुरा त गर्दथे तर उनीहरुको अनुहारमा मैंलेभने त्रास देखिरहेको हुन्थें । साथी भाईहरुको फोन पनि आउँथ्यो । सबैले केही हुँदैन, आत्मबल बलियो बनाउनुस् है भन्दा कता कता डर लाग्थ्यो ।
पहिलो चरणको संक्रमण जस्तो अप्ठेरो त यस पटक मैंले भोग्नु परेन । तथापी निकै असहज महशुस भने गरें । मैंले मनोवल जति बलियो बनाए पनि त्यो क्षणभरमैं कमजोर बनिहाल्ने रहेछ । घरभित्र बसेपछि बाहिरी संसार देखिन्न । सञ्चारमाध्यम र सामाजिक सञ्जाल खोल्नासाथ मृत्युका समाचार र फोटाहरु देखेपछि चिन्ता र चासो स्वाभाविक रुपमा बढ्नेनैं भयो । त्यसलाई हेर्न थालेपछि हतोत्साही र मानसिक रुपमा कमजोर बनिंदो रहेछ ।
म आफूं संक्रमित भएर घर भित्र बसेपछि पनि समुदायसम्म कोरोनाको दोस्रो भेरियण्ट नफैलियोस भनेर विपद व्यवस्थापन समितिको बैठकबाट गाउँपालिकामा निषेधाज्ञा लगाउने काम भयो । नागरिकको जीवन रक्षाका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जारी गरेको न्यूनतम् स्वास्थ्य निर्देशिकालाई पालना गरौं, आफ्ना सबै काम केही दिनका लागि थाँती राखौं, व्यापार व्यवसाय बन्द गरौं भनेर निषेधाज्ञा घोषणा गरिएको थियो । तर त्यसलाई प्रभावकारी बनाउनुको साटो उलंघन गर्ने क्रम बढ्यो । एकातिर सचेत र संवेदनशिल नागरिकहरु घरभित्रै थिए भने कोरोना प्यासेन्ट भनिएका मानिसहरु लखर लखर हिंडेको फोनहरु आउन थालेपछि भने मलाई निकै चिन्तित बनायो ।
आफ्नै जीवन रक्षकालागि गरिएको निषेधाज्ञालाई कमजोर बनाउने, समुदाय स्तरमा संक्रमण फैलाउने डरलाग्दो अबस्था आएपछि मलाई साह्रै पिडा पनिभयो । चैत बैशाखमा गाउँको झुपडीहरुमा लागेको आगो निभाउन जस्तो कठिन हुन्छ त्यस्तै भएको छ मरिण गाउँपालिमा कोरोना संक्रमण । अहिले पनि थुप्रै मानिसहरु संस्थागत र होम आइसोलेसनमा बस्नु भएको छ । ३ जना त एक्सपायरनैं भइसक्नु भएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पणगर्दै शोकाकुल परिवार जनमा गहिरो समवेदना प्रकट गर्दछु । म आफैं पोजेटिभ भएकाले तपाईको पिडामा अभिभावकत्व प्रदान गर्न सकिनँ । कोरोना संक्रमणसँग लडिरहेका मेरा मतदाताहरुलाई भेट्न सकिनँ । त्यसका निम्ती म अत्यन्त दुःखीछु ।
मैंले प्रत्यक्ष रुपमा अर्थात भौतिक रुपमा तपाईहरु माझ उपस्थित हुन नसकेपनि कोरोना रोकथाम र नियन्त्रणका लागि मैंले हरसंभव सबै प्रयासहरु गरिरहेको छु । यसै शिलशिलामा आइतवार गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बस्दैछ । सोही बैठकमा प्रदेश तथा संघीय माननीय पनि उपस्थित हुने कार्यक्रम छ । गाउँपालिका भित्र कोरोना संक्रमणको अबस्थामा छलफलगर्दै ठोस कामहरु अगाडि सोच बनाएको छु ।
नागरिकको जीवन रक्षका निम्ती गाउँपालिकामा स्वास्थ्यकर्मीहरु अहोरात्र खटिइरहनु भएको छ । सुरक्षाकर्मीहरुले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउनु भएको छ । स्वास्थ्यकर्मी, राजनैतिक दल, उद्योग वाणिंज्य संघका पदाधिकारीहरु नागरिक समाज लगायतले निभाउनु भएको कर्तव्यप्रति म उच्च सम्मान प्रकट गर्दछु । उहाँहरुले आफ्नो जीवनको पर्वाह नगरी काम गरिरहनु भएको छ । संकटका बेला थप काम गर्ने स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिनुपर्छ । त्यसका निम्ती सिन्धुली जिल्लाभर जोखिमभत्ता दिने विषयमा एक रुपता हुनुपर्छ भनेर मैंले प्रमुख जिल्ला अधिकारी समक्ष पनि कुरा राखेको छु । यस विषयमा जिल्ला समन्वय समितिले पहल थाल्नु पर्ने थियो । तर संकटका बेला समन्वय समितिले ९ वटा स्थानीय तहको अभिभावकत्व निर्वाह गर्न नसकेको हो कि भन्ने पनि मलाई लागिरहेको छ ।
अन्त्यमा यस्तो संकटका बेला सबै जना आफ्नो घरभित्रै बसौं । लखर लखर नहिंडौं । सामाजिक सञ्जालमा कोरोनाबाट ज्यान गुमाएकाहरुको फोटो र विवरणहरु पोष्ट नगरौं । संक्रमितहरुलाई हेला होइन मायाँ र सद्भाव प्रकट गरौं । आत्मवल बलियो बनाउँदै स्वास्थ्यका मापदण्डहरु पालना गरौं, त्यति ग¥यौं भने हामीले कोरोनालाई सहजै परास्त गर्न सक्छौं । (लेखकः मरिण गाउँपालकाका अध्यक्ष हुनुहुन्छ ।)