राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रतिनिधिसभा भंग गर्नुका साथै मध्यावधि चुनाव घोषणा गरेकी छन्।मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा भंगका साथै मध्यावधि निर्वाचनको मिति सिफारिस गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको बैठकमा सामेल एक मन्त्रीेले बताए। बैठकले आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ती मन्त्रीले जनाए।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार निर्माण हुन नसकेको दाबी गर्दै सरकारले संसद भंग र मध्यावधि चुनाव गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
राष्ट्रपति भण्डारीले सरकार बनाउन केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले राष्ट्रपतिसमक्ष पेश गरेको दलिल मान्न नसकिने जिकिर गर्दै शुक्रबार मध्यरातमा विज्ञप्ति जारी गरेकी थिइन्।











