सिन्धुली जिल्लामा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने कोरोनासँग लडिरहनेको संख्या ७ सय नाघेको छ । स्थानीय प्रशासनले नागरिकहरुलाई अत्याबश्यक काम बाहेक घरमै बस्न भन्दै निषेधाज्ञा जारी गरेको छ र त्यसलाई स्थानीय सञ्चार माध्यम मार्फत प्रसारण गरिरहेको छ । तर यी सबै कुराहरुलाई पर्वाह नगरी नागरिकलाई संकटको समयमा स्वच्छ खानेपानी पुर्याउनु पर्छ भन्दै सिद्धेश्वर खानेपानी कार्यालयका पदाधिकारी तथा कर्मचारीहरु सक्रियता पूर्वक खटिरहेका छन् ।
कोरोना संक्रमणको दोस्रो भेरिण्टका क्रममा आफ्नो जीवनलाईनैं दाउमा राखेर अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, संस्थाका अन्य पदाधिकारी र कर्मचारीहरु निरन्तर श्रम गरिरहेको फोटाहरु अहिले दैनिक रुपमा आउन थालेपछि उनीहरुको सक्रियता बाहिर आएको हो । खानेपानी कार्यालयका तर्फबाट सामाजिक सञ्जालमा सुचना जारीगर्दै कुनै पनि नागरिकको धारामा पानी नआएमा तुरुन्त कार्यालय वा फिल्डमा खटिने प्राविधिकहरुलाई खबर गर्न भनेको छ । ‘यस्तो संकटपूर्ण अबस्थामा हामी सम्पूर्ण ग्राहकहरुको धारामा खानेपानी नरोकियोस्’ भन्ने कुरामा अत्यन्त सचेत छौं, यदी नआए हामीलाई सम्पर्क गर्नुहोस् हामी तत्कालै समस्याको सामाधान गर्छौं, अध्यक्ष श्रेष्ठले प्रदेशखबरसँग भन्नुभयो ।
सबै नागरिकहरु अहिले आ आफ्नो घरमा बसिरहनु भएको छ, कोरोनाको डरलाग्दो रुप देखिइरहेको छ, यस्तो अबस्थामा हामी बाहिर फिल्डमा खटिएर खानेपानी आपूर्तिमा अबरोध नहोस् भनेरै फिल्डमा खटिईरहेको अध्यक्ष श्रेष्ठको भनाई थियो ।
उहाँका अनुसार सिन्धुली जिल्ला अस्पतालको कोभिड उपचार यूनिटमा कोभिड अबधीभरका लागि २४ सै घण्टा पानी आउनेगरी निःशुल्क धारा जडान गरिएको छ । त्यसैगरी नेपाली सेनाको ९ नम्बर बाहिनी, जिल्ला अस्पताल, जिल्ला प्रशासन कार्यालय र बढी विद्यार्थी भएको गौमती र कमलामाविमा पनि २४ सैं घण्टा पानी आउनेगरी धारा जडान गरिएको हो । सबैभन्दा बढी पानी खपत अहिले नेपाली सेनाको व्यारेकमा खपत भइरहेको छ । सेनाको १२ सय सदस्यले अहिले सिद्धेश्वरको खानेपानी प्रयोग गरिरहेकाछन् ।


















