कोरोना संक्रमणका कारण पर्सा जिल्लामा लगाइएको निषेधाज्ञा थप गरिएको छ। जिल्लाभरिमा अहिले लगाइएको निषेधाज्ञालाई जेठ १३ गते राति १२ बजेसम्म जारी राख्ने निर्णय गरिएको छ।
डिसिसिएमसीको बुधबार बसेको बैठकले जिल्लामा जारी गरिएको निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको छ।
जिल्लामा एन्टिजेन किटको अभाव रहेकाले प्रदेश २ को सामाजिक विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसित माग गर्ने निर्णय बैठकले गरेको छ।
गृह मन्त्रालयले पठाएको पत्रअनुसार मेडिकल अक्सिजनको प्रयोग र अस्पतालको समन्वयमा आवश्यकता र समन्वयका आधारमा जिल्लास्थित अस्पतालमा अक्सिजनको आपूर्ति व्यवस्था मिलाउने, जिल्लामा कोभिड संक्रमितको उपचार गराइरहेका निजी अस्पतालले बिरामीलाई प्रवाह गरेको उपचार सेवा र बिरामीबाट लिने गरेको सेवा शुल्कको सम्बन्धमा अनुगमन टोलीमार्फत अनुगमन गर्ने निर्णय पनि डिसिसिएमसीको बैठकले गरेको छ।
साथै, नारायणी अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि यसअघि नै टेन्डर प्रक्रिया सम्पन्न भई सम्झौता भइसकेको अवस्था रहेकाले सम्बन्धित निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न तोकेता गर्ने निर्णय पनि बैठकले गरेको छ।