नेपालमा कोरोना सङ्क्रमण निको हुने दर घट्दै

विगत १५ दिनयता अर्थात् वैशाख १३ गतेदेखि २७ गतेसम्म दैनिक सङ्क्रमित हुने व्यक्तिहरूको प्रतिशत वैशाख २७ गते सोमवार सबैभन्दा बढी पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार पीसीआर र एन्टिजन विधिबाट कुल १८,४११ जनाको परीक्षण गर्दा ९,२७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

यसको अर्थ परीक्षण गरिएका प्रत्येक दुईमध्ये एक जनालाई कोरोनाभाइरस सङ्क्रमण भएको पाइयो।

कोरोनाभाइरस महामारी शुरू भएयताकै सबैभन्दा धेरै १३९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सोमवार पुष्टि गरेको थियो। तर मङ्गलवार त्यसभन्दा पनि धेरै अर्थात्‌ हालसम्मकै सर्वाधिक २२५ १३९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्ला केही दिनयता दैनिक सङ्क्रमित हुने व्यक्तिहरूको औसत सङ्ख्या आठ हजारभन्दा बढी हुने गरेको पाइएको छ।

कोभिड

स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्याङ्कलाई हेर्दा परीक्षण गराएका मानिसहरूमा सङ्क्रमण दर निरन्तर उकालो लाग्ने क्रममा देखिन्छ।

विगत १५ दिनमा एक लाख २३३ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

यो अवधिमा कोभिड-१९ सँग सम्बन्धित कारणले थप ६८३ जनाको ज्यान गएको छ। १५ दिनयता दैनिक औसत मृतकको सङ्ख्या ४५ जना हुन जान्छ।

वैशाख १३ गते कुल सङ्क्रमितको सङ्ख्या ३,०३,५६१ थियो भने वैशाख २७ गते ४,०३,७९४ पुगेको छ।

वैशाख १३ गते २४ घण्टाको अवधिमा ३,५५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने सोही अवधिभित्र सात जनाको मृत्यु भएको थियो।

मन्त्रालयका अनुसार सोही दिन २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृतकको सङ्ख्या १२ थियो।

त्यो दिन सङ्क्रमण दर १२.५ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

वैशाख १३ गते कुल मृतक सङ्ख्या ३,१७६ थियो भने निको हुने दर ९१.५ प्रतिशत रहेको थियो।

त्यसको ठ्याक्कै १५औँ दिन अर्थात्‌ वैशाख २७ गतेको तथ्याङ्क हेर्दा ९,२७१ जनामा सङ्क्रमण देखियो भने २४ घण्टाको अवधिमा १३९ जनाको मृत्यु भएको पाइयो।

त्यो मितिमा कुल मृतक सङ्ख्या ३,८५९ थियो भने निको हुने दर ७६ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

बढ्दो मृत्युको कारण के हुनसक्छ?

विगत १५ दिनकै कुरा गर्ने हो भने सङ्क्रमितहरू निको हुने दर घट्दो क्रममा देखिएको छ भने मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको पाइएको छ।

पहिलाभन्दा अहिले देखिएको भेरिअन्ट धेरै घातक हुनु पनि मृतकको सङ्ख्या बढ्नुको एउटा कारण हुनसक्ने प्राध्यापक बस्न्यात बताउँछन्।

“तर भाइरस लिथल भएकोले मात्रै नेपालमा मृतक सङ्ख्या बढेको भन्न सकिन्न।”

“बिरामीले अक्सिजन नपाएर हुनसक्छ, निको हुन्छ भनेर रोगले च्यापिसकेपछि अन्तिम क्षणमा अस्पताल पुग्ने भएर हुनसक्छ। यस्ता कन्फाउन्डिङ फ्याक्टरहरूले पनि भूमिका खेलेकन हुन्छन्,” उनले भने।

डा. अनुप बास्तोला पनि कतिपय बिरामीले अस्पतालमा शय्या तथा अक्सिजन पाउन नसक्दा मृत्युसम्बन्धी पछिल्लो अवस्था देखिएको बताउँछन्।

जनस्वास्थ्यविद्‌ डा. मरासिनी पछिल्लो समय मृतकको सङ्ख्यामा व्यापक वृद्धि हुनुको अन्य कारण पनि खोज्नुपर्ने सुझाउँछन्।-बीबीसी

“यो डेङ्गी लाग्ने महिना हो, स्क्रब टाइफस लाग्ने महिना हो, कालाजार र जापनिज इन्सेफ्लाइटिस फैलिने महिना हो। डबल इन्फेक्सन भयो कि भन्नेतर्फ ध्यान दिएकै देखिँदैन।”

“कोरोनाभाइरससँगै ती पनि भए भने त्यसले मृत्युदर उच्च बनाउँछ,” उनी औँल्याउँछन्।