गोलन्जोरमा ५ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा, डाक्टरसहितको २४ घण्टे उपचार सेवा शुरु, अध्यक्ष कार्की भन्छन्ः फोन गर्नुस् एम्बुलेन्स बिरामीलाई लिन घरमैं आउँछ

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्ना नागरिकहरुको जीवन रक्षाका लागि २४ सै घण्टा स्वास्थ्य सेवा दिने घोषणा गर्नुका साथै अक्सिजनसहितको ५ वेडको अस्थायी कोभिड अस्पताल पनि सञ्चालनमा ल्याएको छ ।
गाउँपालिका अध्यक्ष पुष्प कार्कीले दिएको जानकारी अनुसार गाउँपालिकामा २४ सै घण्टा खटिनेगरी डाक्टरसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो । कोरोना संक्रमण बढ्दै जाँदा गाउँपालिकाले अक्सिजनसहितको ५ वेड कोराना उपचारका लागि व्यवस्था गरिएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मीका लागि एउटा गाडि र सर्वसाधारण नागरिकलाई ओसार पसारका लागि एउटा एम्बुलेन्स उपलब्ध गराईएको र उनीहरु सुचना आएकै आधारमा नागरिकको घरमैं पुगेर उपचार एवम् आवश्यक सहयोग गर्ने अध्यक्ष कार्कीले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाले डाक्टर र औषधीसहितको समूहलाई गाउँपालिका कार्यालयमा स्ट्याण्डवाई राखेको र कोरोना भाइरसको संक्रमणबाट कोही पनि नागरिकको ज्यान नजाओस् भन्ने उदेश्यले उनीहरुलाई परिचालन गरिएको हो ।

गाउँपालिका अध्यक्ष पुष्प कार्की । फोटो, अशोक ठकुरी/प्रदेशखवर डटकम

स्थानीय वासिन्दाले आफ्ना वडाध्यक्ष वा सिधै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतलाई आफ्नो जीवन जोखिममा रहेको जानकारी गराएकै आधारमा डाक्टरसहितको टिम तत्कालै विरामीको घरमा पुग्ने व्यवस्था मिलाईएको हो । ‘हामी गोलन्जोरका जनताको जीवन रक्षामा प्रतिवद्ध छौं, कोरोना संक्रमण भएको आशंका लागे छ भने सूचना दिनुस् तपाईको घरमैं डाक्टर आउनु हुनेछ’ अध्यक्ष कार्कीले अगाडि भने । उनले पहिलो चरणमा डाक्टर चन्द्र राईको नेतृत्वमा १० जना स्वास्थ्यकर्मीलाई परिचालन गरिएपनि आवश्यक्ताका आधारमा बढाउँदै लगिने बताए ।

अध्यक्ष कार्कीले अप्ठेरो परेका नागरिकहरुलाई सिधै डाक्टर चन्द्र राई ९८४८९०७७८१ र अहेव तारा श्रेष्ठलाई ९८५४०४३८८१ मा सम्पर्क गर्न भनेकाछन् । गोलज्नोर गाउँपालिकामा हालसम्म २ जना कोरोना संक्रमित रहेको र १३ जनाको स्वाव संकलन गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको अध्यक्ष कार्कीले जानकारी दिए ।


अशोक ठकुरी,ग्वाल्टार, सिन्धुली