कोरोना संक्रमणले अस्तव्यस्त बन्दै नेपालगञ्ज

केही दिनअघि भेरी अस्पतालका नर्सहरु पीपीई लगाएर सुतेको कारुणिक तस्बिर बाहिर आयो। दुई हप्ता अघि स्टाफ नर्स कमला नेपाली संक्रमित भएर पनि बिरामीको उपचारमा लागि परेको समाचार आयो।

पीपीईलगाएर सुतेको तस्बिर अनि स्टाफ नर्स आफै संक्रमित भएर बिरामीको उपचार गरेको कुराले उनीहरुलाई कामको धपेडी परेको देखाउँथ्यो। यसबाट देखिन्छ, बिरामीको सेवा गर्ने प्रतिबद्धतामा उनीहरुले कुनै कसर बाँकी राखेका छैनन्, आफूले दुःख व्यहोरेर पनि।

वैशाखको सुरुवातदेखिकै बैठकहरुमा मेसु डा. प्रकाश थापाले यो हिसावले बिरामीको चाप बढ्दा अस्पतालले धान्न सक्दैन, बेड बढाउनु पर्छ, जनशक्ति थप्नु पर्छ भन्दै आएका थिए। जिल्लाका अधिकारीहरुले त्यस कुरालाई सुरुमा गम्भीर रुपमा लिएको देखिएन। कोरोनाको आगो सल्केपछि सबै तातिने काम भएको छ।

वैशाखको मध्यतिर आइपुग्दा स्वास्थ्य मन्त्रालयमा दबाब दिएर ६० जना कर्मचारीको दरबन्दी निकालियो। त्यसमध्येमा ४८ जनालाई नियुक्ति गरेर काममा लगाइसकिएको छ। यद्यपि, विशेषज्ञ डाक्टर र मेडिकल अधिकृत भने जति आएनन्।

नेपालगञ्ज उपमहानगरपालिकाले १५ जना स्वास्थ्यकर्मी भेरीमा पठाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ गरी ४१ जना स्वास्थ्यकर्मी भर्ना गरिएकोमा १५ जना भेरी अस्पतालमा पठाएको जानकारी दिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट ६ जनाको टोली आएर भेरीमा काममा लागिसकेको छ। यी ७० जना स्वास्थ्यकर्मी भेरीमा पुग्दा अस्पताललाई ठूलो राहत मिलेको छ।

अस्पताल विकास समितिका सदस्य धनीराम वली भन्छन्, ‘अस्पतालले नियुक्ति गरेका, उपमहानगरपालिकाले पठाइदिएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट गरी ७० जना भेरीमा आउँदा अस्पताललाई ठूलो राहत मिलेको छ। स्वास्थ्यकर्मीहरुको धपेडी कम भएको छ।’

भेरी अस्पतालमा अहिलेसम्म ८८ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमित भएर पनि दश जना नर्सले बिरामीको सेवा गरिरहेका थिए। अस्पताल विकास समितिका सदस्य वलीका अनुसार, ‘अहिले त धेरैजसो संक्रमितहरु काममा फर्किसकेका छन्।’

भेरीमा अहिले तीन सय बढी बिरामीको उपचार भइरहेको छ। भेरीका मेसु डा. थापाले भारतबाट लिक्विड अक्सिजन ल्याएर भण्डारण गर्न पाए सहज हुने बताए। भेरीले भण्डारणका लागि बेस बनाइसकेको छ भने ट्यांक ल्याइसकेको छ।

भेरीको लोडलाई कम गर्न नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा र उपमेयर उमा थापामगरले राम्रो काम गरेका छन्। उपमहानगरपालिकाले १५ जना स्वास्थ्यकर्मी भेरीमा पठाइदिने मात्रै होइन, ५० बेडको अक्सिजनसहितको आइसोलेसन वार्ड बनाएका छन्।

भेरी अस्पताल नजिकै रहेको रामलिला मैदानस्थित बनाइएको अक्सिजनसहितको वार्डमा भेरीमा आउने बिरामीलाई राखिएको छ। अक्सिजन चाहिने बिरामीलाई भेरीमा राख्ने ठाउँ नहुँदा यहाँ पठाउने गरिएको उपमेयर उमा थापामगरले बताइन्। अहिले त्यहाँ ११ जना बिरामी छन्।

उपमेयर थापाले जिल्लामा राम्ररी समन्वय भएर काम भइरहेको बताइन्। उनले प्रदेश र केन्द्र सरकारले आश्वासनमात्रै दिएको बताइन्।

नेपालगञ्ज उपमहानगरपालिकाले ह्वाइट हाउसमा आइसोलेसन केन्द्र बनाएको छ। भारतबाट आएका संक्रमितलाई त्यहाँ राख्ने गरिएको छ।

उपमहानगरपालिकाले भेरीकै निगरानीमा बाल मन्दिरमा सय बेडको आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको छ। ‘हामीले त आफ्नो ठाउँबाट राम्रो गरेका छौँ। प्रमुख जिल्ला अधिकारीसँग पनि राम्रो समन्वय भइरहेको छ, उपमेयर थापाले भनिन्, ‘प्रदेश र केन्द्र सरकारले आश्वासन दिने मात्रै काम गरेको छ।’

बाँकेका अन्य पालिकाहरुमा अक्सिजनसहितका कोभिड वार्ड बनिसकेका छन्। कोरोना रोकथामका लागि स्थानीय प्रशासनले निषेधाज्ञालाई बढाएर २७ गतेसम्म पुर्‍याएको छ। नेपालगञ्जमात्रै होइन, बाँकेमै कोरोना नियन्त्रणका लागि उपचारदेखि व्यवस्थापनका संयन्त्रहरु तयार पारिएका छन्।

अघिल्लो वर्ष कोरोना हटस्पटबाट पार लगाउँदा नेपालगञ्ज मोडेल भन्ने गरिएको थियो। अहिले आएर सबै व्यक्ति, निकायले आ–आफ्ना डिउटी राम्ररी निभाउँदा कोरोना नियन्त्रण अलि सहज हुँदै गएको छ।

यद्यपि, जिल्लामा संक्रमण फैलिने दर अझै कम भइसकेको छैन। वैशाख १ गतेदेखि वैशाख २४ गतेसम्ममा बाँकेमा ८ हजार ९८ जना संक्रमित थपिएका छन्। त्यसमध्येमा तीन हजार २ सय २१ जना निको भएका छन्। एक सय ७४ जनाले ज्यान गुमाएका छन्।