पुनर्निर्मित धरहराको शनिबार उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धारास्थित धरहरा परिषरमा विशेष कार्यक्रमका बिच २२ तले धरहराको उद्घाटन गरेका हुन्।
धरहराको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका भए पनि सर्वसाधारणका लागि खुला हुन भने अझै केही महिना लाग्ने प्राधिकरणले जनाएको छ ।
बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । यसको अग्लाइ जमिनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए । २०७२ वैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भएको ९ तले धरहराकै स्वरुपमा अहिले कुल २२ तलाको धरहरा बनाइएको हो।
१९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।
धरहराको उदघाटन गरिए पनि पुनर्निर्माणको सबै काम भने सम्पन्न भइसकेको छैन । त्यसैले अहिले नै धरहरा अवलोकन गर्न जान पाइँदैन ।
धरहरामा रंगरोगनको काम सकिएको छ र हाल दुईवटा लिफ्ट जडान गरिएको छ । यद्यपि तत्काललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम पनि जारी छ । २०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसाभित्र राख्ने योजना समेत प्राधिकरणका सचिव गेलालले बताए ।