माओवादी र जसपाबिचको वार्ता निष्कर्ष बिहीन

सत्ता समीकरणबारे नेकपा माओवादी केन्द्र र जनता समावादी पार्टी (जसपा) का नेताबिच छलफल भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालयमा दुई पार्टीका शीर्ष नेताबिच शनिबार छलफल भए पनि ठोस निर्णय भने केही भएको छैन ।

माओवादी केन्द्रसँगको छलफल सकारात्मक रहे पनि टुंगोमा भने नपुगिएको जसपाका नेताहरुले बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता नारायणकाजी श्रेष्ठ प्रकाशसँग जसपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, उपेन्द्र यादवसहित छलफलमा सहभागी थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको वर्तमान सरकारको विकल्पमा समीकरण बनाउने प्रयासमा माओवादी केन्द्र लागेको हो । त्यसकै लागि जसपासँग वार्ता गरेको हो । जसपाका नेता ठाकुरले छलफल राम्रै भएको तर निष्कर्षमा भने पुगिनसकेको बताएका छन् । आफूहरुले सबैतिर कुरा गरिरहेको र त्यसकै निरन्तरता नै माओवादी केन्द्रसँगको वार्ता रहेको बताए ।